ताजा समाचार

अझै होसमा आएका छैनन जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबे

काठमाडाैं । चुनावी अभियानका क्रममा गोली प्रहार भएका जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबे केही घन्टाको उपचारपछि पनि होसमा आउन सकेका छैनन् ।

जापानी अधिकारीहरूलाई उद्धृत गर्दै समाचार संस्था एपीले आबेले सास फेर्न नसकेको र उनको मुटु रोकिएको उल्लेख गरेको छ ।

जापानका प्रधानमन्त्री फुमिओ कासिदाले समाचार संस्था रोयटर्ससँग भनेका छन्- यो पाशविक र विद्वेषपूर्ण घटना हो र यो क्षम्य हुने छैन। हामीले गर्न सक्ने जति हामी सबै गर्नेछौं। अहिले डाक्टरहरू आबेको ज्यान बचाउन निकै मेहनत गरिरहेका छन् ।

आबेमाथि शुक्रबार बिहान पश्चिमी सहर नारामा आइतबार हुने माथिल्लो सदनको चुनावी प्रचारको एउटा कार्यक्रममा सम्बोधन गरिरहेका बेला पछाडिबाट गोली हानिएको थियो ।

प्रहरीले उनीलाई गोली हान्ने ४१ वर्षीय शंकाष्पद पुरूषलाई तत्काल पक्राउ गरेको थियो । ती पुरूषले सटगनबाट आबेलाई गोली हानेको देखिएको छ । उनले गोली हान्नुको कारण भने खुलेको छैन।

गोलीको आवाज आएपछि आबे आफ्नो छातीमा समाउँदै ढलेका थिए । उनको सर्टमा रगत देखिएको थियो । त्यसपछि बेहोस भएका उनलाई अस्पताल लगिएको थियो । उनको उपचार जारी छ।

जापान संसारकै सुरक्षित मुलुकमध्ये मानिन्थ्यो । त्यहाँ बन्दुक बोक्न पाउने कानुन पनि निकै कडा छ ।

लामो समयसम्म प्रधानमन्त्री भएका र अहिलेको सत्तारूढ दलमा पनि बलियो प्रभाव भएका आबेमाथि गोली प्रहार भएको घटनाले संसारको ध्यानाकर्षण भएको छ ।

अष्ट्रेलियाली प्रधानमन्त्री, अमेरिकी विदेश मन्त्रीसहित संसारका विभिन्न मुलुकका नेताहरूले आबेमाथिको गोली प्रहारको निन्दा गर्दै उनको शीघ्र स्वास्थ्य लाभको काम गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org