ताजा समाचार

६ महिनामा कनेक्ट आइपीएसबाट १२ अर्ब रुपैयाँ राजश्व संकलन

काठमाडौं । अनलाइनबाट राज्यको राजश्व संकलनमा उल्लेख्य वृद्धि भएको छ । राजश्व संकलनमा डिजिटल कारोबार कम भएको भनिरहेको बेला चालु आर्थिक वर्षमा भने शतप्रतिशतले वृद्धि भएको छ ।

नेपाल क्लिरिङ हाउस (एनसीएचएल)ले सञ्चालन गरेको कनेक्ट आईपीएसबाट चालु आर्थिक वर्षको ६ महिनामा १२ अर्ब रुपैयाँ राजश्व भुक्तानी भएको छ । गत आर्थिक वर्ष २०७७/७८ भरीमा १२ अर्बको राजश्व भुक्तानी भएको थियो ।
विभिन्न क्षेत्रमा डिजिटल कारोबार बढे पनि राजश्व भुक्तानी भने खासै बढ्न सकेको थिएन । चालु आर्थिक वर्षमा भने गत वर्षकोभन्दा शतप्रतिशत भुक्तानी बढ्ने एनसीएचएलको अनुमान छ ।

यस वर्षको ६ महिनामा राजश्व भुक्तानीका लागि ७ लाख १४ हजार ७४ कोरोबार संख्या भएका छन् । उक्त कारोबार संख्याबाट १२ अर्ब रुपैयाँ भुक्तानी भएको हो ।

एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेषमानसिंह प्रधानले कनेक्ट आइपीएसबाट हुने कारोबारमा शतप्रतिशत वृद्धि भएको बताए ।

‘पछिल्लो ६ महिनामा डिजिटल कारोबारमा उल्लेख्य वृद्धि भएको छ,’ प्रधानले भने, ‘राजश्व संकलनमा यसपाली धेरै प्रगति भएको छ ।’

सरकारलाई बुझाउने करका लागि गतवर्ष ४ लाख ६४ हजार कारोबार भएकोमा अहिले ६ महिनामा ७ लाख कारोबार हुँदै १२ अर्ब रुपैयाँ भुक्तानी भएको छ । अन्य क्षेत्रमा डिजिटल कारोबार बढिरहेको भए पनि राजश्व संकलनमा भने गत वर्षसम्म सरकारलाई बुझाउने कुल राजश्वमध्ये ८ देखि १० प्रतिशतसम्ममात्र भइरहेको थियो ।

‘यसपाली २५ प्रतिशतसम्म राजश्व भुक्तानी अनलाइनबाट हुनसक्ने देखिन्छ,’ प्रधानले भने, ‘यस वर्ष राम्रो सुधार भएको छ ।’

त्यस्तै, २०७५/७६ मा राजश्व संकलनका ४७ हजार ५ सय ३० कारोबार भएको थियो भने २०७६/७७ मा १ लाख ३ हजार ६ सय ७० कारोबार हुँदै ३ अर्ब रुपैयाँ भुक्तानी भएको थियो ।

त्यस्तै, अनलाइनबाट हुने खर्चको कारोबार पनि वृद्धि भएको छ । खर्च कारोबारको लागि गत वर्ष ५९ लाख ३ हजार ३ सय कारोबार हुँदै ६ खर्ब ७० अर्ब रुपैयाँ भुक्तानी भएको थियो भने यस वर्षको ६ महिनामा ४२ लाख १० हजार १ सय ७५ कारोबार संख्यामा ३ खर्ब २ अर्ब रुपैयाँ भुक्तानी भएको छ ।

२०७६/७७ मा ७ लाख २१ हजार ५ सय ५० कारोबार हुँदै २ खर्ब १९ अर्बको खर्चको भुक्तानी भएको छ । त्यस्तै, २०७५/७६ मा १ खर्ब ६६ अर्ब, २०७४/७५ मा ४८ अर्ब र २०७३/७४ मा ३ अर्बको खर्चको कारोबार भएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org