ताजा समाचार

सरकारले सन्तोषजनकरुपमा बजेट खर्च गरेन, ५ महिनामा २४ प्रतिशत

काठमाडौं । पहिलो पाँच महिनामा सरकारको बजेट खर्च २४ दशमलव २६ प्रतिशत बराबर देखिएको छ । चालु आर्थिक वर्षका लागि सरकारले कूल १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रुपैयाँ बराबरको बजेट ल्याएको थियो । जसमध्ये मङ्सिर मसान्तसम्ममा चार खर्ब ३५ अर्ब २१ करोड ११ लाख रुपैयाँ बराबर खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । यस अवधिमा सरकारको पुँजीगत खर्च करिब नौ प्रतिशत बराबर मात्रै देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार मङ्सिर मसान्तसम्ममा स्रघीय सरकारको पुँजीगत खर्च ३३ अर्ब ९९ करोड १६ लाख रुपैयाँ बराबर छ ।

चालु आर्थिक वर्षका लागि सरकारले पुँजीगत शीर्षकमा तीन खर्ब ८० अर्ब ३८ करोड ४५ लाख बराबर बजेट छुट्याएको छ । हालसम्मको पुँजीगत खर्च आठ दशमलव ९४ प्रतिशत बराबर हो । त्यस्तै चालु शीर्षकमा विनियोजित कूल ११ खर्ब ८३ अर्ब २३ करोड ५१ लाख रुपैयाँ बजेटमध्ये हालसम्म २९ दशमलव ९४ प्रतिशत खर्च भएको छ । जुन तीन खर्ब ५४ अर्ब २५ करोड ६९ लाख रुपैयाँ बराबर हो ।

वित्तीय व्यवस्थापनतर्फ दुई खर्ब ३० अर्ब २१ करोड ७७ लाख रुपैयाँ बजेट छुट्याइएकामा मङ्सिर मसान्तसम्ममा ४६ अर्ब ९६ करोड २६ लाख रुपैयाँ बराबर खर्च भएको छ । जुन खर्च वित्तीय व्यवस्था शीर्षकमा विनियोजित बजेटको २० दशमलव चार प्रतिशत बराबर हो । यसरी हेर्दा हालसम्म सरकारको पुँजीगत खर्चभन्दा वित्तीय व्यवस्थापन शीर्षकमा भएको खर्च बढी देखिएको छ । यही अवधिमा सरकारको राजस्व संकलन २४ दशमलव ५२ प्रतिशत  छ ।

चालु आर्थिक वर्षका लागि कूल १४ खर्ब तीन अर्ब १४ करोड ७० लाख रुपैयाँ आन्तरिक राजस्व उठाउने र रु ५५ अर्ब ४५ लाख ८३ करोड रुपैयाँ वैदेशिक अनुदान लिने सरकारको लक्ष्य छ । हालसम्म आन्तरिक राजस्व संकलन तीन खर्ब २६ अर्ब ८९ करोड रुपैयाँ अर्थात् वार्षिक लक्ष्यको २३ दशमलव तीन प्रतिशत बराबर छ । साथै यस अवधिमा सरकारले तीन अर्ब ४१ करोड ५९ लाख रुपैयाँ अर्थात् वार्षिक लक्ष्यको छ दशमलव १६ प्रतिशत वैदेशिक अनुदान लिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org