ताजा समाचार

सगरमाथा आरोही बुढा मगरलाई सभामुख र उपसभामुखको बधाई

काठमाडौं । सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा रानामगरले दुवै खुट्टा नभएर पनि विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्नुभएका हरि बुढामगरलाई बधाई दिनुभएको छ । बालुवाटारस्थित सभामुख निवासमा आज बुढामगरलाई स्वागत गर्दै उहाँहरुले नेपाल र नेपालीलाई विश्वभर चिनाएको भन्दै प्रशंसा व्यक्त गर्नुभयो ।

सभामुख घिमिरेले भन्नुभयो, ‘तपाईं प्रेरणादायी व्यक्तिको सूचीमा विश्वमै कहलिनुभएको छ । तपाईंको प्रेरणाको कथा हरेक बालबालिकासम्म पुयाउनुपर्छ । नेपालीले तपाईंप्रति गौरव गरिरहनेछन् ।’ उपसभामुख रानाले बुढामगरलाई सर्वश्रेष्ठ मानवको सङ्ज्ञा दिँदै आगामी दिनमा पनि आफ्नो यात्रालाई निरन्तरता दिन प्रेरणा प्रदान गर्नुभयो ।

सो क्रममा सभामुख घिमिरेले बुढामगरलाई बधाई पत्र हस्तान्तरण गर्नुभएको थियो । बधाई पत्रमा उहाँले युद्ध मैदानमा दुवै खुट्टा गुमाएपछि पनि कृत्रिम खुट्टाको सहायताले सगरमाथा आरोहण गरी राख्नुभएको विश्वकीर्तिमान युगौँयुगसम्म नेपाली र आरोहणका क्षेत्रमा रहेकाका लागि प्रेरणा बन्ने विश्वास व्यक्त गर्नुभएको छ ।

रोल्पाको थवाङस्थित मिरुल घर भई बेलायती सेनामा रहँदा सन् २०१० मा अफगानिस्तानको लडाईंमा दुवै खुट्टा गुमाउनुभएका बुढामगरले यही जेठ ५ गते विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्नुभएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org