ताजा समाचार

संसदको संयुक्त बैठक बस्दै, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण आजै पेस गर्ने

काठमाडौं । संघीय संसद्अन्तर्गत दुवै सदनको संयुक्त बैठक बस्दै छ।

संसद् भवन नयाँ बानेश्वरमा आइतबार बिहान ११ बजे बस्ने संयुक्त बैठकमा ‘संघीय संसद्‌को संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली मस्यौदा समिति’ को प्रतिवेदनमाथि दफावार छलफल र पारित हुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

नियमावली मस्यौदा समितिका सभापति ध्रुवबहादुर प्रधानले ‘संघीय संसद्को बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली २०८० को मस्यौदा प्रतिवेदनमाथिको संशोधनसहितको दफावार छलफल सदनमा गरियोस्’, भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

संघीय संसदका महासचिव भरतराज गौतमकाअनुसार उक्त मस्यौदा प्रतिवेदनमाथि प्राप्त संशोधनहरूलाई क्रमशः निर्णयार्थ प्रस्तुत गरिनेछ। त्यसपछि समिति सभापति प्रधानले उक्त नियमावली पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेकोछ।

यही जेठ १ गते प्रतिनिधिसभाको बैठकले १६ सदस्यीय ‘संघीय संसद्‌को संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली संशोधन मस्यौदा समिति’ गरेको थियो।

यस्तै अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले आज संसदमा आर्थिक वर्ष २०७९/०८० को आर्थिक सर्वेक्षण पेस गर्दै छन्। प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक दिँउसो १ बजे बोलाइएको छ।

सरकारले संसदमा आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट पेस गर्नु अघिल्लो दिन आज आर्थिक सर्वेक्षण पेस गर्ने सम्भावित कार्यसूची संघीय संसद सचिवालयले सार्वजनिक गरेको हो।

प्रत्येक वर्षको जेठ १५ गते सरकारले बजेट सार्वजनिक गर्ने संवैधानिक व्यवस्था अनुसार अर्थमन्त्री डाक्टर महतले भोलि संघीय संसदको संयुक्त बैठकमा बजेट पेस गर्दै छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org