ताजा समाचार

प्रस्तावित प्रधानन्यायाधीश कार्कीविरुद्ध संसदीय सुनुवाइ समितिमा उजुरी

काठमाडौँ । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध संसदीय सुनुवाइ समितिमा उजुरी परेको छ।

सोमबार रतन भण्डारीले कार्कीविरुद्ध उजुरी हालेका हुन्।‍ समितिले जेठ २६ गतेभित्र कायममुकायम प्रधानन्यायाधीश कार्की प्रधानन्यायाधीश हुन अयोग्य छ भन्ने लागेको खण्डमा उजुरी दिन आह्वान गरेको थियो। सोही बमाेजिम भण्डारीले खुला रूपमा उजुरी हालेका हुन्।

भण्डारीले उजुरीमा असारमा नियुक्ति पाएर साउनमा कार्यकाल सकिने कार्कीले सेवानिवृत्त भएपछि पूर्वप्रधानन्यायाधीशलाई राज्यबाट पाउने करोडौँको गाडी, पेन्सन, सुरक्षाकर्मीजस्ता सुविधाको लोभले त्यो पदमा जान खोजेको आरोप लगाएका छन्।

उनले न्यायालयको गरिमा बढाउन कार्कीलाई प्रधानन्यायाधीश हुन नदिन पनि उजुरीमा उल्लेख गरेका छन्।

‘कामु प्रन्या हुँदा कार्कीले आचारसंहिताविपरीतका मुद्दा हेर्दै स्वार्थ बाझिने गरी फैसला गरेका र सेवानिवृत्त भएपछि राज्यकोषमाथि लुट मच्चाउन एक महिनाका लागि फोटो झुन्ड्याउनेगरी प्रधानन्यायाधीशको बढुवाका लागि कसरत गरिरहेकाले उनको नियुक्ति सम्बन्धमा अरू पनि केही भए सबैले संसदीय समितिमा उजुरी गरौँ। कार्कीको प्रन्यामा हुन लागेको नियुक्ति रोकौँ। राज्यकोषको सम्पत्ति दुरुपयोग हुनबाट जोगाऔँ। न्यायालयको गरिमा बढाउन हरिकृष्ण कार्कीहरूलाई प्रधानन्यायाधीश हुन नदिऔँ’, उजुरीमा भनिएकाे छ।

गत वैशाख २५ गते संवैधानिक परिषद्ले कार्कीलाई सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो।

सार्वजनिक सुनुवाइका लागि वैशाख २७ गते सोको जानकारी संसद् सचिवालयलाई गराइएको थियो।

कार्की झन्डै १५ महिनादेखि सर्वोच्चमा कामु प्रधानन्यायाधीशको रूपमा कार्यरत छन्।

गत वर्ष फागुन १ गते महाअभियोग लागेर प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा निलम्बनमा परेपछि न्यायपालिका कायममुकामको भरमा चल्दै आएको छ।

राणाकाे निलम्बनपछि वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की कायममुकायम प्रधानन्यायाधीश बनेका थिए।  झण्डै ८ महिना कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेपछि उनले उमेरहदका कारण अवकास पाएपश्चात् न्यान्यायाधीश कार्कीले सो जिम्मेवारी सम्हालेका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org