ताजा समाचार

नक्कली भुटानी शरणार्थी प्रकरण : आज सरकारी वकिलतर्फको बहस सकिने

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा आज सरकारी वकिलतर्फको बहस सकिने भएको छ ।

गएको आइतबारदेखि काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा थुनछेक बहस जारी छ ।

न्यायाधीश न्यौपानेको इजलासले सरकारी वकिललाई आजसम्म बहस गर्ने समय तोकेको छ ।

सरकारी पक्षको बहस सकिएपछि पक्राउ परेका अभियुक्तका कानुन व्यवसायीले बहस गर्नेछन् । कानुन व्यवसायीले यही जेठ ३० गतेसम्म बहस गर्नेछन् । जेठ ३१ गते सरकारी वकिलको जवाफी बहस सकिएमा उक्त दिन नै थुनछेक आदेश आउनेछ । त्यसक्रममा अभियुक्तहरूलाई पुर्पक्षका लागि थुनामै राख्ने वा धरौटीमा छाड्ने आदेश हुनेछ ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै विभिन्न व्यक्तिबाट रकम असुल गरी ठगी गरेको अभियोगमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले जेठ १० गते मुद्दा दायर गरेको थियो । ३० अभियुक्तमाथि ठगी, किर्ते, राष्ट्रियहितविरुद्धको कसुर, संगठित अपराध र एकीकृत कसुरको अभियोग लगाइएको छ ।

अभियुक्त बनाइएका ३० मध्ये १८ जना पक्राउ परेका छन् । १२ जना अझै फरार छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org