ताजा समाचार

नक्कली शरणार्थी प्रकरणः सरकारी वकिल पक्षको बहस सकियो, भोलिबाट प्रतिवादीका तर्फबाट बहस

काठमाडौं। नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै भएको ठगी प्रकरणमा दायर भएको मुद्दामा सरकारी वकिल कार्यालयले आफ्नो बहस सकाएको छ।

पीडित तथा वादीको तर्फबाट आइतबारदेखि बहस गरेका सरकारी वकिलहरुले मंगलबारको खाजा ब्रेकअघि बहस सकाएका हुन्।

आइतबार सरकारी वकिलका तर्फबाट महेश खत्रीले बहस गरेका थिए। त्यसपछि सोमबार र मंगलबार जनक घिमिरे, सीताराम अर्याल, दिनेश भट्टराई, प्रकाश घिमिरेले लगायतले बहस गरे। मंगलबार खाजा ब्रेकअघि नै सरकारी वकिल पक्षले बहस सकाएको छ।

अब पीडित पक्षका निजी वकिलहरुले बहस गर्नेछन्। त्यसपछि प्रतिवादीका तर्फबाट बहस हुनेछ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा थुनछेक बहस भइरहेको छ।

यसअघि न्यायाधीश न्यौपानेले वादीतर्फबाट ३ दिन र प्रतिवादीका तर्फबाट ६ बहसका लागि ६ दिनको समय छुट्याएका थिए। थुनछेक बहस सकिएपछि न्यायाधीश न्यौपानेको इजलासले धरौटी तथा साधारण तारेखमा छाड्ने वा पुर्पक्षका लागि थुनामा पठाउने भन्ने आदेश गर्नेछ।

अदालतले उनीहरुलाई धरौटीमा रिहा गर्ने आदेश गरेमा तोकिएको धरौटी भरेर छुट्नेछन् भने थुनामा पठायो भने फैसला नभएसम्मका लागि थुनामा रहनुपर्नेछ। जिल्ला अदालतले थुनामा पठाउने आदेश गरेमा उनीहरु त्यसविरुद्ध उच्च अदालत हुँदै सर्वोच्च जान पाउने छन्। माथिल्लो अदालतले जिल्ला अदालतको निर्णय उल्ट्याउन सक्छ।

यसअघि पक्राउ परेका अभियुक्तहरुको एक साता लगाएर न्यायाधीश न्यौपानेले बयान गराएका थिए। पक्राउ परेकाहरु अधिकांशले आफूमाथिको आरोप भने अस्वीकार गर्दै आएका छन्। यो प्रकरणमा पूर्वउपप्रधानमन्त्री तथा एमालेका सचिव समेत रहेका सांसद टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री समेत रहेका कांग्रेसका नेता बालकृष्ण खाण, सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल, पूर्वसांसद तथा कांग्रेसका नेता आङटावा शेर्पा पक्राउ परेका छन्।

त्यसैगरी हज समितिका अध्यक्ष शमशेर मियाँ, बिचौलियाहरु केशव दुलाल, सानु भण्डारी, टोपबहादुर रायमाझीका छोरा सन्दीप, अर्का बिचौलिया सन्देश शर्मा, पूर्ववडाध्यक्ष सागर राई, बिचौलिया टंक गुरुङ, रामशरण केसी, बालकृष्ण खाणका पीए नरेन्द्र केसी, बिचौलिया गोविन्द चौधरी, लक्ष्मी महर्जन, हरिभक्त प्रधान गरी १८ जना अहिले हिरासतमा छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org