ताजा समाचार

पूर्वी नेपालमा बाढीपहिरोको वितण्डा : एक जनाको मृत्यु, २५ जना बेपत्ता

काठमाडाैँ । मनसुन सुरु भएसँगै परेको वर्षाका कारण पूर्वी नेपालका पहाडी जिल्लामा ठूलो क्षती भएको छ ।

शनिबार राति आएको बाढी र पहिरोमा परी २५ जना बेपत्ता भएका छन् ।

बाढीले ठूलो भौतिक तथा मानवीय क्षति भएको हुनसक्ने भए पनि विवरण आउन बाँकी रहेको सुरक्षा निकायका अधिकारीहरूले बताएका छन् ।

शनिबार राति संखुवासभाको हेवा खोलामा आएको बाढीमा मात्रै १६ जना बेपत्ता भएका छन् ।

चैनपुर नगरपालिका-४ स्थित हेवा खोलामा निर्माणाधीन जलविद्युत आयोजनामा १९ जना कार्यरत रहेकोमा १६ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी वीरेन्द्र गोदारले जानकारी दिए ।

तीन जनाको भने उद्धार गरिएको छ । उद्धार गरिएका तीन जनालाई उपचारका लागि चैनपुर लगिएको छ ।

यस्तै, संखुवासभाको पाँचखपन नगरपालिका-५ मा एक जनाको शव भेटिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका  प्रवक्ता ऋषिराम कँडेलले जानकारी दिए ।

पाँचथरमा ५ जना बेपत्ता, मेची राजमार्ग अवरुद्ध

शनिबार राति नै हेवा खोलामै आएको बाढीले पाँचथरको फिदिममा पाँच जना बेपत्ता भएका छन् भने पुलहरू बगेका छन् ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका डीएसपी हरि खतिवडाका अनुसार हेवा–१ जलविद्युत् आयोजनामा कार्यरत हिलिहाङ–७ का दिलकुमार तामाङ र फिदिम-१० का सन्जोग लोवा, फिदिम-४ माझीटारमा बोत्तल हाउस सञ्चालन गरेर बसेका आशिष, एलिसा माझी र फिदिम-४ हेवा खोलाबाट एक जना बेपत्ता भएका छन् ।

यस्तै, फालेलुङ-३ खोलाघारी सेपीमा पहिराले पुरेका एक बालकको सकुशल उद्धार भएको वडाध्यक्ष शक्ति केरुङले जानकारी दिए ।

बाढीले जिल्लाका पाँच वटा पुल बगाएको छ । मेची राजमार्गस्थित पाँचथर जिल्लाको फिदिम नगरपालिका-४ र हिलिहाङ गाउँपालिका-७ जोड्ने हेवाखोला पुलसमेत बगेको छ । पुल बगाएपछि मेची राजमार्ग पूर्णरूपमा अवरुद्ध बनेको डीएसपी खतिवडाले बताए ।

तमोर करिडोरको ‘बेलीब्रिज’ पनि बाढीले बगाएको छ । फालेलुङ गाउँपालिका–३ मच्छेबुङमा मोटरेबल पुल बगाएको छ ।

बाढीले याङ्वरक गाउँपालिका-३ र २ लगायत विभिन्न ठाउँमा ९ वटा घर बगेको जानकारी आएको प्रहरीले जनाएको छ ।

ताप्लेजुङको पहिरोमा ४ जना बेपत्ता

ताप्लेजुङमा पहिरोमा पुरिएर एकै परिवारका तीन जनासहित चार जना बेपत्ता भएका छन् ।

गएरातिको पहिरोमा पुरिएर सिदिङ्वा गाउँपालिका-६ मेहेलेमा यादव बुढाथोकीकी श्रीमती भागीमाया, बुहारी सन्ध्या र नाती प्रज्ज्वल बेपत्ता भएका हुन् । सोही स्थानका गणेश तामाङ पनि बेपत्ता भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डीएसपी राजन लिम्बुका अनुसार वेपत्ता भएका चारै जनाको खोजीकार्य जारी छ ।

गएराति ताप्लेजुङमा भारी वर्षा भएको थियो । बाढीले दोभान, ढुंगे साँघु लगायतका क्षेत्रमा कटान भएको र केही स्थानमा सडकसमेत अवरुद्ध भएको प्रारम्भिक विवरण आएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार क्षतिको पूर्ण विवरण संकलनको काम जारी छ ।

बिहीबार राति पनि वर्षा र बाढीले सदिङ्वा र सिरिजंगामा क्षति पुर्‍याएको थियो । बाढी पहिरोले सुरुमखिम-खेवाङ-याम्फुदिन जोड्ने मोटरेबल पुलको एकातर्फको भाग भत्काएको थियो भने काबेली हाइड्रो पावरको गोदाममा राखिएका सामान बगाएको थियो ।

कञ्चनजंघा मावि, याम्फुदिन प्रहरी चौकी र स्थानीयका केही घर जोखिममा छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org