ताजा समाचार

बंगलादेशमा पर्यटन प्रवर्द्धन गर्दै हान, समझदारीपत्रमा हस्ताक्षर

काठमाडाैँ । होटेल संघ नेपालको आयोजनामा नेपाल पर्यटन बोर्ड र बंगलादेशस्थित नेपाली राजदूतावासको सहयोगमा ढाकास्थित होटेल सेराटनमा पर्यटन प्रवर्द्धन तथा बीटूबी कार्यक्रम सम्पन्न भएको छ ।

उक्त अवसरमा बंगलादेशका विभिन्न सहरका प्रतिष्ठित संघ संस्था तथा ९० भन्दा बढी पर्यटन व्यवसायीहरुको उपस्थितिमा होटेल संघ नेपालको नेपाली प्रतिनिधिमण्डलका २४ होटेल सदस्यहरुले बीटूबी कार्यक्रम बुधबार सम्पन्न गरेका छन् ।

नेपाली प्रतिनिधिमण्डललाई नेतृत्व गर्ने होटेल संघका अध्यक्ष विनायक शाहले यस कार्यक्रमबाट बंगलादेशबाट नेपाल आउने पर्यटकको संख्या बढावा पुग्ने विश्वास व्यक्त गरेका छन् ।

कार्यक्रममा बंगलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारी, बंगलादेशका पर्यटन मन्त्रालयका अतिरिक्त सचिव, बंगलादेश पर्यटन बोर्डका निर्देशक, विभिन्न पर्यटनसँग सम्बन्धित छाता संगठन, सरकारी अधिकारीहरू र सार्क मुलुकको प्रतिनिधित्व गर्ने पत्रकारहरूको उपस्थिति रहेको थियो ।

सोही कार्यक्रममा हान र बंगलादेश इन्टरनेसनल होटेल एसोसिएसन (बिहा)बीच पर्यटन प्रवर्द्धन र दुवै मुलुकमा आतिथ्य क्षेत्रको विकासका लागि सहकार्यका लागि अवसर खोज्न समझदारीपत्रमा हस्ताक्षर भएको छ । पत्रमा हानका अध्यक्ष शाह र बिहाका अध्यक्ष एचएम हकिम अलीले हस्ताक्षर गरेका छन् ।

बंगलादेशी पर्यटकमाझ नेपालको बढ्दो आकर्षणलाई मध्यनजर गर्दै देशको पर्यटन प्रवर्द्धन गर्न हानका अध्यक्ष शाहको नेतृत्वमा २४ सदस्यीय होटेल व्यवसायीको टोली सोमबार बंगलादेश आएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org