ताजा समाचार

नेपाल कृषिप्रधान देश भएकाले नै नाकाबन्दीले गलाउन सकेनः ओली

काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कृषिलाई सहकार्य, सहकारी र सामूहिक प्रणालीबाट व्यापक रूपमा अघि बढाउनुपर्ने बताएका छन् ।

धान दिवसका अवसरमा शुक्रबार भरतपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कुनै पनि उत्पादन ठूलो मात्रामा गर्नुपर्ने बताएका हुन् ।अहिले परिवार सानो हुने, भएकाहरू पनि विदेश पलायन हुने र कृषि पेसातर्फ आकर्षण कम हुने गरेको छ । सहकार्य र सहकारी आवश्यक छ, उनले भने ।

खाद्यान्न उत्पादनमा आत्मनिर्भर बन्न सकेमा कसैको परनिर्भर हुन नपर्ने उल्लेख गर्दै उनले नेपाल कृषिप्रधान देश भएकाले नै नाकाबन्दीले गलाउन नसकेको बताए । पाँच महिनाको नाकाबन्दीमा पनि नेपाल टिकिरहनुको कारण कृषि उत्पादन नै हो । हामी प्रायः बाहिरबाट सबै चिज ल्याउँछौँ । तर, हामीलाई खान पुग्ने अन्न, सब्जी, माछा, मासु र दूध यही उत्पादन हुन्छ । त्यसो हुनाले नाकाबन्दीले पनि हामीलाई गलाउन सकेन, उनले भने ।

उत्पादनलाई प्रविधिसँग जोड्न जरुरी रहेको उल्लेख गर्दै अध्यक्ष ओलीले राष्ट्रिय अन्न धानको उत्पादन गुणात्मक किसिमले वृद्धि गर्नुपर्नेमा जोड दिए । कृषि विश्वविद्यालयले कृषि प्रविधिलाई समयसापेक्ष अनुसन्धान गरी जनतासम्म पुर्‍याउनुपर्ने उनको भनाइ थियो । कृषिलाई आत्मनिर्भर बनाउने कुरामा विश्वविद्यालय लाग्नुपर्छ,उनले भने । उत्पादन बिक्री नभएर फाल्नुपर्ने स्थिति नआउन विविधिकरण गर्नुपर्ने उनले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org