ताजा समाचार

६ महिना नपुग्दै कोशीमा ढल्यो एमाले नेतृत्वको सरकार, पक्षमा ४६ र विपक्षमा ४३ मत

काठमाडौं। संघीय सरकारबाट बाहिरिएर प्रमुख प्रतिपक्षी बनेको नेकपा एमाले नेतृत्वको कोशी प्रदेश सरकार पनि ढलेको छ।

एमालेका नेता हिक्मत कार्कीले मुख्यमन्त्रीका रुपमा प्रदेश सभामा पेस गरेको प्रस्तावको पक्षमा भन्दा विपक्षमा धेरै मत परेको छ।

मुख्यमन्त्री कार्कीले आफूलाई प्रदेश सभाको विश्वास रहेको भन्ने प्रस्ताव बिहीबार प्रदेश सभा बैठकमा पेस गरेका थिए। शुक्रबार भएको मत विभाजनमा कार्कीले ४६ मत मात्र पाएका छन्। उनको प्रस्तावको विपक्षमा ४३ मत परेको छ। बहुमतका लागि यो प्रदेशमा ४७ सांसद आवश्यक रहन्छ। मत विभाजनका क्रममा ८९ सांसद उपस्थित रहेका थिए। ४ जना सांसद अनुपस्थित रहे।

नेपालको संविधान धारा १८८ को उपधारा २ बमोजिम कार्कीले विश्वासको मत मागेका हुन्। सो धारामा सरकारमा सहभागी भएको दल समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएमा विश्वासको मत लिनुपर्ने व्यवस्था छ। माओवादी केन्द्र र जसापा समर्थन फिर्ता लिँदै कार्की नेतृत्वको सरकारबाट बाहिरिएका थिए।

कुल ९३ सांसद रहेको यो प्रदेशमा कार्कीलाई एमालेसहति राप्रपाको मात्र समर्थन थियो। उनका विपक्षमा भने कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी रहेका छन्। त्यस्तै, जसपा भने तटस्थ बसको छ। जसपाले बिहीबारै तटस्थ बस्ने निर्णय गरेका थियो।

जसपाको १ मात्र सांसद छन्। कांग्रेसको २९, माओवादी केन्द्रका १३ र एकीकृत समाजवादीका ४ सांसद छन्। यस्तै, एमालेको ४० र राप्रपाका ६ सांसद छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org