ताजा समाचार

दुई सातामै जडान भयो भुरुंगखोलामा बेलीब्रिज

काठमाडौं । म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकअन्तर्गत भुरुङ्गखोलामा दुई हप्तामै बेलीब्रिज जडान गरिएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा पर्ने भुरुङ्गखोलामा करिब रु ३५ लाखको लागतमा ३० मिटर लामो बेलीब्रिज जडान भएको बेनी–जोमसोम–कोरला सडक आयोजना प्रमुख जगत् प्रजापतिले बताए ।

सडकअन्तर्गत मुस्ताङको लेतेखोलाको बेलीब्रिजलाई भुरुङ्गखोलामा स्थानान्तरण गरिएको हो । लेतेखोलामा पक्की पुल बनेपछि त्यहाँको बेलीब्रिजको सामान सडक डिभिजन कार्यालय पोखरा लगिएको थियो । पोखराबाट बेलीब्रिजको पाटपुर्जा ल्याएर भुरुङ्गखोलामा राखिएको हो ।

बेनी–जोमसोम सडक आयोजनाले हालै बेनी नगरपालिका–८ कालीपुबाट पर्वतको जलजला गाउँपालिका २ र ३ बगरफाँट जोड्ने म्याग्दी नदीमाथि ४५ मिटर लामो बेलीब्रिज जडान गरेको थियो । गत फागुनमा रु दुई करोड चार लाखमा ठेक्का सम्झौता हिमालयन विल्डर्सले जेठमै बेलीब्रिज जडानको काम सकेर यातायात सञ्चालन भइसकेको छ ।

बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण–३ दानास्थित रुप्सेखोलामा ४५ मिटर लामो बेलीब्रिज जडानको काम अन्तिम चरणमा पुगेको छ । रुप्सेखोलामा बेलीब्रिज जडान र नजिकैको पहिरो हटाउन मुक्तिनाथ निर्माण सेवाले रु तीन करोड ५६ लाखमा ठेक्का सम्झौता गरेको थियो । असार महिनाभित्रै रुप्सेको बेलीब्रिजमा यातायातका साधन सञ्चालन हुने गरी तीव्रताका साथ जडानको काम भइरहेको बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org