ताजा समाचार

कोशी प्रदेश सरकारविरुद्धको रिटको पेशी आनन्दमोहन भट्टराईको इजलासमा

काठमाडौँ । कोशी प्रदेश सरकार अवैधानिक भन्दै नेकपा एमालेले सर्वोच्च अदालतमा दायर गरेको रिटको पेशीमा आइतबार सुनुवाइ हुँदैछ।

न्यायायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासमा आज सुनुवाइ हुन लागेकाे हाे।

पेशी दश नम्बरमा परेकाे छ।

निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुक्रबार वारेसमार्फत् रिट दर्ता गराएका थिए। कार्कीका तर्फबाट वारेस पवनकुमार निरौलाले रिट दर्ता गराएका हुन्।

कोशी प्रदेश नेकपा एमालेका संसदीय दलका नेतासमेत रहेका कार्कीले दर्ता गरेकाे रिटमा नवनिर्वाचित मुख्यमन्त्री उद्धव थापा, प्रदेश प्रमुख पर्शुराम खापुङ र सभामुख बाबुराम गौतमलाई विपक्षी बनाइएको छ।

कार्कीको रिटमा संविधानको धारा १६८ (२) बमोजिम सरकार गठन गर्दा सभामुखलाई समेत समावेश गरिनु संविधान विपरीतको कार्य भएको दाबी छ।

संविधानको धारा १६८ को उपधारा २ मा प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभाको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नसक्ने व्यवस्था छ।

थापा चार दलको समर्थनमा बिहीबार मुख्यमन्त्री नियुक्त भएका थिए। बहुमत नपुग्ने भएपछि सभामुख बाबुराम गौतमको अलग्गै हस्ताक्षर गराएर प्रदेश प्रमुखसमक्ष थापाले दाबी पेस गरेका थिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org