ताजा समाचार

एमालेले आज पनि चल्न दिएन राष्ट्रियसभा बैठक

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले चौथो पटक राष्ट्रिय सभाको बैठक अवरुद्ध गरेको छ ।

आइतबार बिहान साढे ११ बजे बसेको बैठकको सुरुमा एमाले सांसदहरू केही दिन अघि प्रधानमन्त्री प्रचण्डले बोलेको अभिव्यक्तिको विरोधमा उभिएपछि राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सांसद भगवती न्यौपानेलाई बोल्न समय दिए ।

न्यौपानेले प्रधानमन्त्री प्रचण्डले जनयुद्धको बेला भारतलाई पत्र लेखेको र त्यो पछि सार्वजनिक भएको बताइन् । यस्तै एमसीसी परियोजना सम्झौतामा कार्यकर्तालाई सडकमा उतारेर सदनबाट पास गरेको बताउँदै प्रधानमन्त्री प्रचण्ड नाटक गर्न धेरै सिपालु रहेको आरोप लगाइन ।

उनले भनिन्–‘उहाँले राष्ट्रिय स्वाधीनताका विरुद्धमा पटक पटक धावा बोल्ने काम गर्नुभएको छ । भारतलाई नेपालको सरकार बनाउन खुला रूपमा आमन्त्रण गर्नुभएको छ ।

यो भन्दा अगाडि पनि उहाँले भारतका निम्ति कन्र्फटेवल सरकार बनाउनका निम्ति भारतलाई खुला रूपमा आमन्त्रण गर्नुभयो । उहाँले त्यता गल्तीहरू धेरै गर्नुभयो ।’

उनले भारत भ्रमणमा जाँदा प्रधानमन्त्रीले धेरै राष्ट्रघाती सम्झौता गरेको आरोप लगाइन् । भारत भ्रमणमा गएको बेला इपिजीको प्रतिवेदनको बारेमा कुरा नगरेको, भारतले नेपालको भूमि समेटेर बनाएको नक्सा हेरेर आउँदा अलिकति पनि नछोएको दाबी गर्दै प्रधानमन्त्रीले अब संसद्मा आएर जवाफ दिन आवश्यक नरहेको भन्दै राजीनामा मागेकी छिन् । उनले बोलेपछि एमालेका सांसदहरू आफ्नो आसनबाट उभिएर राष्ट्रिय सभाको बैठक अवरुद्ध गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org