ताजा समाचार

विमान खरिद राष्ट्रिय आवश्यकता हो, ३ वटा किन्ने प्रक्रियामा छौं– मन्त्री किराती

काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले जहाज खरिद गर्नु राष्ट्रिय आवश्यकता भएको बताएका छन् ।

बिहीवार राष्ट्रिय सभा बैठकमा बोल्दै मन्त्री किरातीले जहाज खरिद गर्नु आफ्नो निजी स्वार्थको विषय नभएको भन्दै यो राष्ट्रिय आवश्यकता नै भएको बताए ।

उनले दुर्गम क्षेत्रमा विमानस्थल बने पनि त्यस क्षेत्रमा उड्ने हवाइजहाजको कमीले नियमित उडान गर्न नसक्दा विमानस्थलको औचित्यमाथि नै प्रश्न उठेको बताए ।

दुर्गम क्षेत्रमा उडान गर्दा नाफा कम हुने भएकाले निजी क्षेत्र त्यसतर्फ उडान सञ्चालन गर्न आकर्षित नदेखिएको उनको भनाइ छ ।

वायु सेवा निगमले ३ वटा साना जहाज खरिद गर्ने प्रक्रिया अगाडि बढाएको पनि उनले जानकारी गराए । कुन प्रक्रियाबाट खरिद गर्ने भन्ने कुरा निगमकै विज्ञ र पदाधिकारीले निर्धारण गर्ने उनको भनाइ छ ।

आफूले नेपालको प्रचलित कानूनअनुसार पारदर्शी ढंगले जहाज खरिद प्रक्रिया अघि बढाउन निर्देशन दिएको मन्त्री किरातीको भनाइ छ ।

‘कुन प्रक्रियाबाट खरिद गर्ने त्यो निगमकै विज्ञ र पदाधिकारीले निर्धारण गर्ने कुरा हो । आवश्यक परे सरकारले सहजीकरण मात्र गर्छ र नेपालको प्रचलित कानूनअनुसार पारदर्शी ढंगले जहाज खरिदको प्रक्रिया अघि बढाउन मैले निर्देशन गरिसकेको छु,’ मन्त्री किरातीले भने ।

उनले देशका विभिन्न स्थानमा विमानस्थल निर्माणको माग भएको उल्लेख गर्दै विमानस्थलको संख्या थप्ने भन्दा पनि सेवा र गुणस्तर बढाउनेमा जोड दिनुपर्ने बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org