ताजा समाचार

‘गृहमन्त्री जी, जवाफ दिन सक्नुहुन्छ- तपाईंको कार्यकालमा कति क्विन्टल सुन सेटिङमा भित्रियो र दक्षिणतर्फ निर्यात गरियो?’

काठमाडाैँ । नेकपा एमालेका पोलिटब्युरो सदस्य एवम् प्रतिनिधिसभाका सांसद सूर्य थापाले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेका छन्।

बुधबार त्रिभुवन विमानस्थलको कडा भन्सार चेकजाँच छिचोल्दै भित्र्याइएको सुन राजस्व अनुसन्धान विभागको टोली सिनामंगलबाट समातेपछि थापाको यस्तो प्रतिक्रिया आएको हो।

‘हवाई यात्राको क्रममा गौचरन एयरपोर्टमा प्राय: सधैभरि प्रतिनिधिसभा सदस्यको लोगो लगाएर म आम यात्रु जसरी सुरक्षा चेकजाँच गराउँछु। कहिलेकाहीँ भिआइपी कक्षतर्फ अलिक लामो प्रतिक्षाको लागि पनि जान्छु’, उनले भनेका छन्, ‘तर सुरक्षा जाँचको प्रक्रिया पूरा गरेर मात्रै। त्यसक्रममा कलम, मोबाइल र पेटीसमेत खोलेर छुट्टै ट्रेमा देखाउन र एक्सरे मेशीनमा राख्न लगाइन्छ। त्यसो गर्नु संवदनशील सुरक्षा प्रयोजनले सही नै हो भनेर सहयोग गर्दै आएको छु।’

उनले प्रहरी सुरक्षाकर्मीले त्यति गरिसक्दा सुरू र अन्तिमका एक्सरे मेशीन पार गर्नेक्रममा दुई-दुई पटक शरीर छामछुम गर्ने गरेको सुनाए।

‘यो सबै देखाउन र लोक रिझ्याइँका लागि गर्ने गरिएको हो त? एक क्विन्टल सुन इन्टरनेशनल टर्मिनलको सारा कडा सुरक्षा जाँच परीक्षण पार गरी सकुशल सिनामंगलसम्म ट्याक्सीमा सवार हुन कसरी पुग्यो? ’, उनले प्रश्न उठाएका छन्।

अब गृहमन्त्रीले कुनै ढिलाइ नगरी राजीनामा दिनुपर्ने पनि उनले बताएका छन्। ‘यसमा गृहमन्त्रीजीले जवाफदेही भएर छानबिन प्रभावित नहोस् भनी स्वनिलम्बन/ राजीनामाको घोषणा गर्न अत्यन्त  ढिलो भयो’, उनले भने, ‘नैतिकता र जवाफदेहिता फगत आदर्शको रटान र स्टन्टबाजी वा आत्मप्रशंसाको खोक्रो अभिनय होइन र हुनै सक्दैन।जिम्मेवार व्यक्ति स्वयम्ले दृष्टान्त बन्न सक्नुपर्ने निर्मम विषय हो।’

उनले गृहमन्त्रीलाई अर्को प्रश्न पनि गरेका छन्।

‘गृहमन्त्री नारायणकाजी श्रेष्ठजी, जवाफ दिन सक्नुहुन्छ- तपाईंको कार्यकालमा कति क्विन्टल सुन यस्तो सेटिङमा भित्रियो र दक्षिणतर्फ निर्यात गरियो?’, उनले भने, ‘अनि, सुन तस्करीको यस्तै नालायक र निर्लज्ज रमिते बन्न गृहमन्त्री बन्नुभएको हो त? अब राजीनामा दिएर छानबिनलाई सघाउनुस्, अन्यथा तपाईंभन्दा नैतिकहराम मान्छे नेपाल सरहदभित्र नभूतो नभविष्यति अरू कोही देखिने छैन।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org