ताजा समाचार

भेटघाटको बहाना र व्यापारको आधार ‘चिया गफ’

इटहरी । मौसम जे होस् जस्तो होस् अधिकांश मानिसको दिनको शुरूवात चियाको चुस्किसँगै हुन्छ। चिया हाम्रो दैनिक चुस्कि नै भैसक्यो।

अझ भनौं,हाम्रो जीवनको अभिन्न हिस्सा जस्तै। ग्रीन टी, ब्लाक टी, ह्वाइट टी, हर्बल टी आदि जे जे भनेनि जसरी पिएनि चियासँगको नाता प्रगाढ छ । चाहे घरमा या बाहिर ,आफ्ना या अन्जान प्रायः हाम्रो जीवनका सम्बन्धको शुरूवात नै सम्भवतः यही एक कप चियाको साथबाट हुन्छ अनि भएको छ भन्दा खासै फरक नपर्ला।

हामी कसैसँग भेटघाट गर्ने बेलामा एक कप चिया सँगै पिऊँ है भन्दै शुरूवात गर्छौ । भेटिएका सँग पनि पुनः अर्को पल्ट चिया पिउने वाचा गर्दै छुट्छौ। सम्बन्धलाई सुमधुर बनाउने अनि भेटघाट गर्ने चाहनालाई राम्रो बहाना बन्छ चिया डेट चिया गफ ।

थोरै यहाँ चियाको इतिहास जोड्न मन लाग्यो,’चा आ’बाट चियाको यात्रा सम्झन मन लाग्यो । हुन त चियाको इतिहास खोज्ने हो भने थुप्रै कथाहरू भेटिएका छन् तिनैमध्ये सबैभन्दा प्रचलित कथाको प्रसंग यहाँ जोडेँ मैले । चियाको आविस्कार तथा यसको इतिहास चिनसँग जोडिएको छ। यो कथानुसार ईशापूर्व २७३२ मा चीनका सम्राट शेंग नुंगले चियाको आविस्कार गरेका थिए त्यो पनि गल्तिले।

कथानुसार,शेंग नुंग कतै बाहिर बसिरहँदा कतैबाट उड्दै आएर उनको पिउने तातो पानीमा चिया पत्ति पस्छ । त्यसपछि त्यसको वास्ना र पानीको बदलिँदो रङ्गले सम्राट छक्क पर्छन् र कुतूहलतापूवर्क त्यो पिउँछन्, उनलाई यति आनन्द आउँछ कि मानौं पूरै शरीरमा उर्जा थपियो, शरीरका हरेक हिस्सामा यो उर्जा खोजिखोजि पुग्दैछ, त्यसैबेला शेंग नुंगले यसको नाम चा।आ। राखिदिए, जसको अर्थ चिनिया भाषामा फेरी खोज्नु हुन्छ। हो, यसरी यो संसारलाई मिल्यो चिया, जसको स्वाद अझ भनौं यसको लत आजसम्म लागेको छ । यस्तै चियाको लत बसेका कुनै ठाउँका केही धनाढ्य अनि प्रतिष्ठित व्यक्तिहरूले एउटा समूह बनाएछन् ।

प्रत्येक महिना कसैको घरमा भेट्ने अनि नयाँनयाँ स्वादको चिया पिउने, गफ गर्ने, रमाईलो गरि त्यो दिन बिताउने। जसको पालो आउँथ्यो, उसले कसरी चिया मिठो बनाएर ख्वाउँने भनेर भएजानेका महँगामहँगा खाद्यबस्तु हालेर चिया बनाएर ख्वाउँथे रे।

एक दिन त्यो समुहको सब भन्दा धनी मान्छेको घरमा पालो परेछ । सबै भेला भए। त्यो मान्छेले सुनको भाँडामा राखेको चियापत्ति निकालेर चिया बनाएछ, र सुनकै कपमा सबैलाई दिएछ। चिया पिउँदै सबले खुव तारिफ गरेछन् । यो त हाम्रो देशको हैन, अझ राम्रो बिदेशबाट ल्या होला र त यति मिठो छ भन्दै पिएछन् ।

आजसम्मकै सबभन्दा मिठो चिया खुवाएकोमा धन्यवाद पनि दिएछन्। त्यो धनी व्यक्तिले मुसुमुसु हाँस्दै भनेछ-‘जुन चियाको तपाईहरू यति तारिफ गर्दै हुनुहुन्छ नि त्यो चिया मेरा खेतमा काम गर्ने किसानहरूले दिनहुँ खाने हो,सामान्य चिया हो जुन हामीले सायद कहिल्यै चाखेनौं,ध्यान दिएनौं,सस्तो र सजिलै पाईने भएर होला।’सबै छक्क परे । कथा पनि सकियो ।

यो संसारमा राम्रा कुरा, हामीलाई खुशी मिल्ने कुरा,महँगो नै हुनुपर्छ या पाउन गाह्रो नै हुन्छ भन्ने कुनै नियम छैन । बस्,थोरै हामीले आफ्नो सोच फराकिलो र हेर्ने दृष्टिकोण बदल्यौं भने सब प्यारो लाग्छ, राम्रो लाग्छ र खुशी पनि उतिकै मिल्छ । मन परेका मान्छेसँग बसेर गफ गर्दै पिएको एक कप चिया जस्तै ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org