ताजा समाचार

पाकिस्तानको संसद रातारात भंग

काठमाडौं । पाकिस्तानको संसद भंग भएको छ ।

प्रधानमन्त्री शहबाज शरीफ नेतृत्वको मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति आरिफ अल्वीले बुधबार मध्यराति संसद भंग गरेका हुन् ।

पाकिस्तानको संसदको कार्यकाल १२ अगस्टमा समाप्त हुँदै थियो । तर त्यसभन्दा तीन दिन अगाडि नै संसद भंग गरिएको हो ।

संसद भंग हुनासाथ मन्त्रिपरिषद पनि भंग भएको छ । यद्यपि अर्को कार्यबाहक प्रधानमन्त्री चयन नहुन्जेल हालका प्रधानमन्त्री शहबाज शरीफ पदमा कायमै रहनेछन् ।

बीबीसीका अनुसार तीन दिनभित्रै नयाँ कार्यबाहक प्रधानमन्त्री चयन गरिने छ । कार्यवाहक प्रधानमन्त्री चयन गर्नु अगाडि विपक्षी दलका नेता राजा रियाज र प्रधानमन्त्री शहबाज शरीफबीच छलफल हुने तय भएको छ । नेता रियाजले नयाँ प्रधानमन्त्री चयनका लागि सहमतिको कोसिस गर्न छलफल गर्न लागेको बताएका छन् ।

अब पाकिस्तानमा ९० दिनभित्र आम निर्वाचन हुने छ । संसद विघटन भएर आम निर्वाचनको तयारी भइरहेको बेला पूर्वप्रधानमन्त्री इमरान खानको राजनीतिक भविष्य भने अन्योलमा छ ।

भ्रष्टाचार मुद्दामा उनलाई तीन वर्षको जेल सजायँ तोकिएको छ । पाकिस्तानको निर्वाचन आयोगले खानले पाँच वर्षसम्म चुनावमा भाग लिन नपाउने निर्णय गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org