ताजा समाचार

प्रहरी चौकी बनाउन जग्गा दान

काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारका स्थानीयवासीले प्रहरी चौकीको भवन निर्माणका लागि रु ३५ लाख ५० हजार मूल्यबराबरको जग्गा दान गरेका छन् ।

घारका गणेश र शिव खड्काबाट चार रोपनी दुई आना तीन दाम क्षेत्रफलको जग्गा प्राप्त भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी नायब उपरीक्षक मदन कुँवरले गणेशले दुई रोपनी १० आना एक दाम एक पैसा र शिवले एक रोपनी सात आना तीन दाम दुई पैसा क्षेत्रफलको जग्गा उपलब्ध गराउनुभएको जानकारी दिनुभयो ।

‘चलनचल्तीको भाउअनुसार गणेशले रु २१ लख ४५ हजार र शिवले रु १२ लाख पाँच हजार मूल्यबराबरको जग्गा निःशुल्क उपलब्ध गराउनुभएको हो’, उहाँले भन्नुभयो, ‘जग्गा प्राप्त भएपछि प्रहरी चौकी शिख घारको भवन निर्माणका लागि बजेट व्यवस्थापन गर्न माथिल्लो निकायमा प्रस्ताव गरेका छौँ ।’

स्थानीय जनप्रतिनिधि, अगुवा र सुरक्षा अधिकारीको पहलमा जग्गा व्यवस्थापन भएको हो । म्याग्दीमा सदरमुकाम बेनीको जिल्ला प्रहरी कार्यालय मातहत १७ वटा चौकी तथा पोष्ट छन् । घोरेपानी, घार, भुरुङ–तातोपानी, भगवती, पाखापानी, चिमखोला, तिप्ल्याङ, गलेश्वर, कालीपुल, मङ्गलाघाट, रत्नेचौर, सिङ्गा तातोपानी, बाबियाचौर, दरबाङ र ताकममा प्रहरी एकाइ छन् ।

जिल्ला प्रहरी कार्यालय ताकम प्रहरी चौकी, सीमा प्रहरी चौकी भुरुङ तातोपानीको मात्र आफ्नै भवन छन् । अन्य प्रहरी युनिट सामुदायिक भवन र भाडाको घरबाट सञ्चालन भएका छन् । पूर्वाधार अभावमा सुरक्षाकर्मीको आवास व्यवस्थापन, प्रशासनिक काम र पक्राउ परेका व्यक्तिलाई राख्न समस्या भएको छ । प्रहरी चौकीको भवन बनाउन जग्गाको अभाव प्रमुख समस्या देखिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org