ताजा समाचार

शिक्षक बन्न नयाँ प्राबधानः अनिवार्य स्नातक तह उतीर्ण भएको हुनै पर्ने

काठमाडौं । सरकारले शिक्षक बन्न कम्तीमा स्नातक तह अनिवार्य उतीर्ण भएको हुनुपर्ने प्रस्ताव सहितको विधेयक संसदमा पेश गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले बुधबार संघीय संसद सचिवालयमा पेश गरेको विद्यालय शिक्षासम्बन्धी विधेयकमा शिक्षकको न्यूनतम योग्यता स्नातक उतीर्ण तोकिएको हो ।

हाल प्राथमिक तहको शिक्षक बन्नका लागि कक्षा १२ उतीर्ण भए पुग्ने व्यवस्था थियो । प्राथमिक, निम्न माध्यमिक र माध्यमिक गरी तीन तहको शिक्षकको व्यवस्था गरे पनि विधेयकमा दुई तहका शिक्षक मात्र प्रस्ताव गरिएको छ । अब आधारभूत र माध्यमिक गरी दुई तहका शिक्षक मात्रै रहनेछन् ।

आधारभूत तहको शिक्षकको परीक्षामा सहभागी हुन स्नातक उतीर्ण गरेको हुनुपर्नेछ । आधारभूत तहको शिक्षक पनि दुई किसिममा बर्गीकरण गरिएको छ । कक्षा १ देखि ५ सम्म अध्यापन गर्ने शिक्षकलाई साधारण र कक्षा ६ देखि ८ सम्म अध्यापन गर्ने शिक्षकलाई विषयगत शिक्षक भनिएको छ ।

आधारभूत तहको साधारण शिक्षकका लागि जुनसुकै विषयमा स्नातक गरे पनि पाइनेछ । विषयगत शिक्षकका लागि सम्बन्धित विषयमा नै स्नातक गर्नुपर्नेछ । ‘आधारभूत तहको साधारण शिक्षकको हकमा जुनसुकै विषयमा स्नातक तह तथा विषयगत शिक्षकको हकमा सम्बन्धित विषयमा सनातकोत्तर तह उतीर्ण गरेको’ विधेयकको दफा ५० १० खमा उल्लेख गरिएको छ ।

विधेयकमा पहिलो पटक शिक्षकको परीक्षामा आन्तरिक प्रतियोगिताको व्यवस्था पनि गरिएको छ । आधारभूत तहको तृतीय श्रेणीको पदमा शत प्रतिशत नै खुला प्रतियोगिताबाट पदपूर्ति हुनेछ ।

माध्यमिक तहको तृतीय श्रेणीमा भने ७० प्रतिशत खुला प्रतियोगिताबाट र ३० प्रतिशत आन्तरिक प्रतिस्पर्धाबाट पदपूर्ति हुनेछ । माध्यमिक द्वितीय श्रेणीको पदमा पनि २० प्रतिशत सिटमा खुला प्रतिस्पर्धाको व्यवस्था प्रस्ताव विधेयकमा गरिएको छ ।

जुनसुकै तहको शिक्षक हुन अध्यापन अनुमतिपत्र (लाइसेन्स) अनिवार्य लिएको हुनुपर्ने व्यवस्था समेत गरिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org