ताजा समाचार

रातोपाटीमा कार्यरत पत्रकार धामीमाथि सांघातिक आक्रमण

काठमाडौँ । पत्रकार कृष्णसिंह धामीमाथि सांघातिक आक्रमण भएको छ । समाचार अनलाइन रातोपाटीमा कार्यरत पत्रकार धामीलाई सोमबार पाँच/छ जनाको समूहमा आएका व्यक्तिहरुले आक्रमण गरेका हुन् । धामीमाथि रातोपाटीको केन्द्रीय कार्यालय बखुण्डोल नजिकै सांघातिक आक्रमण गरेका हुन् ।

अपरान्ह करिब साढे ४ बजेतिर खाजा खाएर रातोपाटीकर्मी कार्यालयतर्फ फर्किने क्रममा धामीलाई उनीहरुले अन्धाधुन्ध आक्रमण गरेका थिए । मुक्का प्रहारबाट धामीको टाउकोलगायत विभिन्न भागमा चोट लागेको छ । उनको पुल्चोकस्थित सुमेरु अस्पतालमा उपचार भइरहेको छ ।

गत भदौ २६ गते विप्लव नेतृत्वको नेकपा निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले रातोपाटी र त्यसमा कार्यरत सम्वाददातालाई सजाय दिने धम्की दिएको थियो । त्रिविमा मापदण्ड नै नपुगेका कलेजलाई विषयगत स्वीकृति दिएको विषयमा क्रान्तिकारीका अध्यक्ष प्रकाश शाही ९सी०ले विज्ञप्ति नै जारी गरेर भौतिक कारबाहीको चेतावनी दिएका थिए ।

यस्तै समाचारको विषयलाई लिएर विप्लवका विद्यार्थीहरूले निरन्तर आफूलाई धम्की दिएको धामीले बताउँदै आएका थिए । विज्ञप्ति र सामाजिक सञ्जालमार्फत समेत धम्की दिएपछि यसबारे नेपाल पत्रकार महासंघले विज्ञप्ति निकालेर ध्यानाकर्षण भएको जनाएको थियो ।

भदौ २७ गते महासचिव रोशन पुरीले विज्ञप्ति निकालेरै उक्त धम्कीप्रति आपत्ति जनाउँदै विरोध जनाएका थिए । आक्रमणकारीहरूले कार्यालय फर्किने क्रममा सुरुमा धामीलाई नमस्कार गरेको र त्यसअघि एकाएक आक्रमण गरेर भागेको प्रत्यक्षदर्शीले बताएका छन् । मोटरसाइकलमा आएका उनीहरू आक्रमण लगत्तै भागेका थिए । घटनापछि प्रहरी प्रभाग पुल्चोकका इन्स्पेक्टर प्रमोद कार्की नेतृत्वको टोली घटनास्थल पुगेर अनुसन्धान थालेको छ । प्रहरीले आवश्यक जानकारी लिएर दोषीको खोजी कार्य तीव्र बनाइसकेको जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org