ताजा समाचार

सशस्त्रका महानिरीक्षक र नेपाल प्रहरीका निमित्त महानिरीक्षक अमेरिका प्रस्थान

काठमाडौं । सशस्त्र प्रहरीका महानिरीक्षक र नेपाल प्रहीका निमित्त प्रहरी महानिरीक्षकसहितको टोली अमेरिका प्रस्थान गरेको छ ।

अमेरिकाको क्यालिफोर्नियामा यही असोज २७ देखि ३० गतेसम्म सञ्चालन हुने प्रहरी प्रमुखको अन्तर्राष्ट्रिय सङ्घको सम्मेलनमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालसहित सशस्त्र प्रहरी नायब महानिरीक्षक शम्भु सुवेदीसमेत त्यसतर्फ प्रस्थान गरेका हुन् । सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको अनुपस्थितिमा निमित्त महानिरीक्षकको जिम्मेवारी सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले सम्हालेका छन् ।

यस्तै, निमित्त प्रहरी महानिरीक्षक, प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईको नेतृत्वमा नेपाल प्रहरीका वरिष्ठ प्रहरी अधिकृतहरूको तीन सदस्यीय टोली पनि सोही कार्यक्रममा भाग लिन मङ्गलबार मित्रराष्ट्र संयुक्त राज्य अमेरिका प्रस्थान गरेका छन् । उक्त टोलीमा उनका साथमा प्रहरी नायब महानिरीक्षकद्वय दुर्गा सिंह र केदार ढकाल सम्मिलित रहेका छन् ।

सम्मेलनमा इन्टरपोल र अन्तर्राष्ट्रिय पुलिस सम्बन्धका भावी योजना, समुदाय–प्रहरी साझेदारी अवधारणाअनुरूप मानव बेचबिखनका पीडितको सशक्तीकरण र विश्वास अभिवृद्धिलगायत विविध विषयमा छलफल हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ । निमित्त प्रहरी महानिरीक्षक टेकप्रसाद राईको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हालेका छन् ।

यसअघि, यही असोज २० गते प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरको नेतृत्वमा नेपाल प्रहरीका वरिष्ठ प्रहरी अधिकृतसहित चार सदस्यीय टोली संयुक्त अधिराज्य बेलायत प्रस्थान गरेको थियो । बेलायत सरकारको निमन्त्रणामा यही असोज २२ देखि २६ गतेसम्म आयोजना हुने सुरक्षा र न्याय सुदृढीकरणका लागि एकीकृत कार्यक्रममा सहभागी हुन उनीहरू गएका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org