ताजा समाचार

ओमानसँग नेपाल ५ रनले पराजित,सेमिफाइनलमा युएईसँग खेल्ने

काठमाडौं । टी–२० विश्वकप छनोट खेलमा ओमानसँग ५ रनले पराजित भएपछि नेपाल समूह उपविजेता बनेको छ । नेपालले सेमिफाइनलमा ग्रुप बिको विजेता युएईसँग खेल्ने छ ।

कीर्तिपरस्थित टीयु मैदानमा ओमानले दिएको १४६ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा सबै विकेट गुमाएर १४० रन मात्र बनाउन सक्यो । रोमाञ्चक खेलमा नेपाललाई जितका लागि अन्तिम ओभरमा २६ रन आवश्यक थियो । विवेक यादवले सुरुवाती तीन बलमा लगातार छक्का हानेर जितको आशा कायम राखे पनि चौथो बलमा आउट भए र करण केसी अन्तिम बलमा आउट भए ।

अन्तिम बलमा जितका लागि ६ रन आवश्यक भएका बेला करण आउट भएपछि ओमान ५ रनले विजयी हुँदै समूह ए को विजेताका रुपमा सेमिफाइनल प्रवेश गरेको हो । ओमनले समूह बिको उपविजेता सँग सेमीफाइनल खेल्ने छ । समूह बिको उपविजेता भने टुङ्गो लागि सकेको छैन् ।

टस हारेर ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनाएको थियो । ओमानका कप्तान जिसन मक्सदले ३२, नसिम खुसीले २५, प्रतीक अथावालेले २४ रन र सकिल अहमेदले २२ रन जोडे । अरु ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन् ।

नेपालका करण केसीले ३ विकेट लिएका थिए भने सोमपाल कामी र सन्दीप लामिछानेले २–२ विकेट हात पारेका थिए । गुल्शन झा र अविनाश बोहोराको नाममा एक–एक विकेट लिएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org