ताजा समाचार

भूकम्प अपडेटः ठूलो संख्यामा उद्धारकर्मी परिचालन हालसम्म १३३ जनाको मृत्यु, १४० भन्दा बढी घाइते

काठमाडौं । शुक्रबार राति गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म मर्नेको सङ्ख्या १३३ पुगेको छ । नेपाली प्रहरीको जानकारी अनुसार १३३ जनाको मृत्यु भएको छ भने १४० जना घाइते भएका छन् ।

जसमा जाजरकोटमा भूकम्पबाट ९५ जनाको निधन भएको छ भने ५५ जना घाइते भएका छन् । यसैगरी, रूकुम पश्चिममा ३८ जनाको निधन भएको छ र ८५ जना घाइते भएका छन् । थप विवरण आउने क्रम जारी छ ।

भुकम्पमा परेकाहरूको खोज तथा उद्धारका लागि जाजरकोटमा सशस्त्र प्रहरी बल नेपाल नंं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट प्रादेशिक सशस्त्र प्रहरी निरीक्षक डा. निश्चल घिमिरेको कमाण्डमा ४ जना मेडिकल टोली खटाइएको छ ।

यस्तै, नं. ३२ गण सुर्खेतबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ७० जना, नं.४२ रिजर्भ गण बाँकेबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा २२ जना विपद् व्यवस्थापन तालिम प्राप्त टोलीसहित २५ जना, आश्रित गुल्म जाजरकोटबाट ७० जना र आश्रित गुल्म दैलेखबाट २५ जना गरी १ सय ९४ जना सशस्त्र प्रहरी कर्मचारीहरू उद्धार सामग्रीसहित खटिएको जनाइएको छ ।

यसैगरी, पश्चिम रुकुममा विभिन्न गण तथा गुल्मबाट १ सय ७३ जना सशस्त्र प्रहरी कर्मचारीहरू परिचालन भएका छन् ।

सशस्त्रले प्रभावित क्षेत्रहरूमा विपद् उद्धारका लागि दक्ष जनशक्ति समेत परिचालन गरेको छ भने अन्य युनिटहरुबाट समेत फौज परिचालनको लागि तयारी अवस्थामा राखिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org