ताजा समाचार

मूल्य घटेपछि च्याउ उत्पादक किसान मर्कामा

काठमाडौं । उत्पादित च्याउको बजार मूल्य अत्यधिक मात्रामा घटेपछि कास्कीका च्याउ किसान मर्कामा परेका छन् । मूल्य यतिबेला घटेर प्रतिनकिलो रु ६० पुगेको छ । पोखरा बजारमा बढी मात्रामा उपभोक्ताले उपभोग गर्ने च्याउ कन्य नै हो । चिसो मौसममा च्याउको उत्पादन पनि बढी हुने गर्छ ।

किसानले उतपादन गरेको कन्य च्याउ पोखरा बजारमा दैनिक चार हजार किलो बिक्री हुने गर्छ । कास्कीमा व्यावसायिक च्याउखेती गर्ने किसानको सङ्ख्या २० र बाहिरबाट पनि केहीमात्रामा च्याउ आयात हुने गरेको छ ।

पोखरा महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले किसानको उत्पादन गरेको च्याउ र सिमीको मूल्य यतिबेला अत्यधिक मात्रामा घटेपछि किसानको लागत मूल्यसमेत उठ्न नसकेको बताउनुभयो ।

पोखरा–१९ लामाचौरका च्याउ उत्पादक किसान सन्दीप क्षेत्रीले एक किलो च्याउ उत्पादन गर्न लागत मूल्य रु एक सय ३० लाग्छ तर प्रतिकिलो ६० मा बिक्री गर्नुपर्दा च्याउ किसानको लगानी सिधै डुब्ने अवस्थामा पुगेको बताउनुभयो । रु १४ लाखको लागतमा छ रोपनी जग्गामा उत्पादन गरेको च्याउले बजार नपाउँदा आफूले ठूलो नोक्सानी व्यहोर्नुपरेको उहाँले बताउनुभयो। ‘पोखरामा च्याउको मूल्य चार वर्षयताकै न्यून हो’, क्षेत्रीले भन्नुभयो, ‘च्याउ उत्पादक किसानको सङ्ख्या पनि बढ्दै जानु, च्याउ उत्पादन गर्ने अनुकूल मौसम र दसैँ पर्व पछाडि अर्थात् च्याउ उत्पादन बढी हुने समयमा पर्दा उपभोक्ताले मासु खाइदिँदा च्याउको माग घटेसँगै मूल्यमा पनि गिरावट आएको हो ।’

महानगरपालिकामा सूचीकृत किसानले उत्पादन गरेको च्याउको न्यूनतम समर्थन मूल्य तोकिदिएका कारण च्याउ किसान विस्थापित नै हुनुपर्ने अवस्थामा भने छैन । महानगरले पोखरामा च्याउको समर्थन मूल्य रु एक सय ३० तोकेको छ । गत वर्ष महानगरले पोखरामा च्याउको न्यूनतम समर्थन मूल्य रु एक सय ५० तोकेको थियो । यस वर्ष रु २० घटाएर रु एक सय ३० कायम गरिएको कृषि महाशाखा प्रमुख कडरियाले जानकारी दिनुभयो ।

लागत मूल्यलाई आधार बनाएर न्यूनतम समर्थन मूल्य तोकिएको उहाँले बताउनुभयो । ‘समर्थन मूल्यभन्दा कम मूल्यमा किसानले च्याउ बेचेमा त्यसमा थपेर समर्थन मूल्य बराबर महानगरले रकम उपलब्ध गराउँछ’, कडरियाले भन्नुभयो, ‘समर्थन मूल्यका कारण च्याउखेतीबाट विस्थापित हुने स्थिति आउँदैन, न्यूनतम समर्थन मूल्यबापतको रकम लिन पनि सजिलो छ ।’ किसानले मूल्य घटेकोबारेमा महानगरलाई पूर्वजानकारी गराउनुपर्ने उहाँले बताउनुभयो । कडरियाले भन्नुभयो, ‘पछि हामीले अनुगमन गर्छौं र बेचेको रकमका आधारमा प्रमाण पेस भए तुरुन्तै रकम उपलब्ध गराउँछौँ ।’

पोखराका अर्का च्याउ किसान रवीन मैनालीले च्याउखेती गर्दा बढी मेहनत र झन्झटिलो भएकाले किसानलले दुःखअनुसारको मुनाफा प्राप्त गर्न नसक्ने बताउनुभयो । पोखरामा च्याउखेती गर्ने किसानको सङ्ख्या बढे पनि उत्पादित च्याउले मूल्य नपाउँदा किसानले सन्तुष्टि प्राप्त गर्न नसकेको मैनालीको भनाइ छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org