ताजा समाचार

प्रधानमन्त्री प्रचण्डले बोलाए सर्वदलीय बैठक

काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सर्वदलीय बैठक बोलाएका छन् ।

आज दिउँसो २ बजे सिंहदरबारमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलसँग छलफल गर्न बैठक बोलाइएको हो ।

गत शुक्रबार जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पले मानवीय र भौतिकरुपमा ठूलो क्षति गरेपछि प्रधानमन्त्री प्रचण्डले उक्त विषयमा र समसामयिक विषयमा छलफल गर्न राजनीतिक दलहरुलाई बैठक बोलाएको उनले बताए।

भूकम्पले जाजरकोट र रुकुम पश्चिममा १५३ जनाको मृत्यु भएको छ। भूकम्पमा परी जाजरकोट र रुकुमपश्चिममा हालसम्म ८२ जना बालबालिकाको मृत्यु भएको छ। सरकारले मृतकका परिवारलाई २ लाख दिने घोषणा गरेको छ। प्रचण्डले राहत विवरण एकद्वार प्रणालीबाट वितरण हुने जानकारी गराएका छन्। सरकारले भूकम्पपीडितको उद्धार, राहत र पुनःस्थापनाको काम युद्धस्तरमा भइरहेको जनाएको छ।

यता भूकम्पका कारण घरबारविहीन बनेका पीडितले हालसम्म राहत पाउन सकेका छैनन्। सरकारी तथा गैरसरकारी निकायले भूकम्पपीडितका लागि उपलब्ध गराउने भनिएको राहत सामग्री सुगममै थन्किएको छ। भूकम्पका कारण सबैभन्दा क्षति पुगेको जाजरकोट सदरमुकाम खंलगा र पालिकाको केन्द्रमै राहत थन्किएको छ।

भूकम्पबाट घरबारविहीन भएको तीन दिनसम्म पनि त्रिपाल, खाद्यान्न र कपडालगायतका राहत सामग्रीहरू नपाउँदा थप समस्या भएको पीडितको गुनासो छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org