ताजा समाचार

देशका विभिन्न ठाउँबाट जुवातास खेल्ने ९० जना पक्राउ, कुन जिल्लाबाट कति ?

काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा देशका विभिन्न ठाउँमा ९० जना पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार सबैभन्दा धेरै कञ्चनपुरबाट ४२ जना, काठमाडौंबाट १७ जना, डडेलधुराबाट १३ जना, दार्चुला र संखुवासभाबाट सात–सात जना र सिन्धुलीबाट ४ जना गरेर जम्मा ९० जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकामाथी आवश्यक कारवाहीका लागि अनुसन्धान भइरहेको प्रहरी प्रवक्तासमेत रहेका प्रहरी नायव महानिरीक्षक ९डीआईजीपी० कुवेर कडायतले नेपाल प्रेसलाई जानकारी दिए ।

कञ्चनपुर, भिमदत्त नगरपालिका–१७ बाँसखेडाका भिमबहादुर ठगुन्नाको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–१८ का ४० वर्षका ईन्द्र पाठकसहित २८ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद दुई लाख ५८ हजार ६ सय ९४ रूपैयाँ र तास २०८ पत्तीसहित पक्राउ गरेको हो ।

यसैगरी सोही नगरपालिका–१६ मझगाउँस्थित मनोज धानुकको मनोज रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–१४ का ३८ वर्षका दिनेश खत्रीसहित ६ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले नगद २५ हजार चार सय ६० रूपैयाँ र तास गड्डी पाँच थानसहित पक्राउ गरेको हो ।

यसैगरी कञ्चनपुर, बेलौरी नगरपालिका–६ दुम्लीस्थित गजेन्द्र रानाको गोठमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३६ वर्षका रामबहादुर रानासहित आठ जनालाई मंगलबार बिहान नै प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २२ हजार ४० रुपैयाँ र तास एक गड्डीसहित पक्राउ गरेको हो ।

काठमाडौं, शंखरापुर नगरपालिका–एक नाङ्लेभारे बस्ने ५० वर्षीय विनानाथ दंगालको टहरामा जुवातास खेलिरहेको अवस्थामा दंगालसहित आठ जनालाई सोमबारराति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी नाङ्लेभारेबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ७६ हजार आठ सय ३५ रुपैयाँ र एक बुक ताससहित पक्राउ गरेको हो ।

यसैगरी नाङ्लेभारेस्थित शिव मन्दिरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–एक ढुङ्गाना गाउँ बस्ने ४२ वर्षका मधु रिमालसहित नौ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । सोही चौकीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४० हजार आठ सय ५५ रुपैया र एक बुक ताससहित पक्राउ गरेको हो ।

डडेल्धुरा, अमरगढी नगरपालिका–एक मौरडास्थित धर्मराज जोशीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४३ वर्षका ओमप्रकाश जोशीसहित १३ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २१ हजार तीन सय ७९ रुपैयाँ र तास दुई सय ५२ पत्तासहित पक्राउ गरेको हो ।

यस्तै सिन्धुली, सुनकोशी गाउँपालिका–६ खाल्टेका ५० वर्षका रामे माझीको घरमा जुवातास खेलिरहेको अवस्थामा चार जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय खुर्कोटको प्रहरीले उनीहरूलाई नगद २२ हजार सात सय ६० रुपैयाँ, एक गड्डी तास र ३३ वटा कौडासहित पक्राउ गरेको हो ।

दार्चुला, महाकाली नगरपालिका–५ गल्फैका ३२ वर्षका केशवदत्त भट्टको घरमा जुवातास खेलिरहेको अवस्थामा भट्ट लगायत सात जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४३ हजार तीन सय रुपैयाँ र तासको गड्डी ६ थानसहित पक्राउ गरेको हो ।

यस्तै संखुवासभा, चैनपुर नगरपालिका–३ तिनखोप्रेका ३६ वर्षका हर्कमणि कटुवालको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँका ५१ वर्षका प्रेमबहादुर कटुवालसहित लगायत सात जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय चैनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३८ हजार तीन सय २५ रुपैयाँ र १ बुक तासहित पक्राउ गरेको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org