ताजा समाचार

प्रधानमन्त्री प्रचण्ड भोलि युएई जाँदै, शनिबार कोप–२८ लाई सम्बोधन गर्ने

काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप २८)मा सहभागी हुन बुधबार संयुक्त अरब इमिरेट्स जाने भएका छन् ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री कोप २८ सम्मेलनका उच्चस्तरीय कार्यक्रममा सहभागी हुनेछन् । प्रधानमन्त्रीले १६ मंसिरमा सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्रीको टोलीमा वन तथा वातावरणमन्त्री वीरेन्द्र महतोसमेत सहभागी हुनेछन् । कोप २८ सम्मेलन बिहीबार दुबईमा सुरु हुँदै छ । मंसिर १५ र १६ मा ‘वर्ल्ड क्लाइमेट एक्सन समिट’अन्तर्गत ‘हाई लेभल सेग्मेन्ट’मा सहभागी हुनेछन् । प्रधानमन्त्री प्रचण्डले बिहीबार आबुधाबीमा रहेको नेपाली राजदूतावास भ्रमण गर्ने र नेपाली समुदायसँग अन्तरक्रिया गर्ने पनि कार्यक्रम छ । उनी युएईको ५२औँ एकता दिवसमा आयोजित समारोहमा सहभागी हुँदै छन् । युएई सरकारले यो कार्यक्रमको आयोजना गर्दै छ ।

प्रधानमन्त्री प्रचण्डले सम्मेलनकै दौरानमा उच्चस्तरीय साइड इभेन्ट आयोजना गर्दै छन् । जसको नाम ‘हिमालको आवाज : हामीलाई जलवायु संकटबाट कसले बचाउँछ ?’ राखिएको छ । हिमालको एजेन्डालाई कोप सम्मेलनका वेला छलफलको प्रक्रियामा ध्यानाकर्षण गराउन नेपालले यो कार्यक्रम आयोजना गर्न लागेको नेपाली राजदूतावासले जनाएको छ । दुबईमा रहँदा प्रधानमन्त्री प्रचण्डले सम्मेलनमा सहभागी विभिन्न मुलुकका सरकार प्रमुख, राष्ट्र प्रमुख तथा उच्चस्तरीय नेतृत्वसँग साइडलाइन भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्रले जनाएको छ । प्रधानमन्त्री प्रचण्ड १७ मंसिरमा स्वदेश फर्किने कार्यक्रम छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org