ताजा समाचार

गुणस्तरीय शिक्षाका लागि संखुवासभाका स्थानीय तहका जनप्रतिनिधिसँग अन्तरक्रिया

संखुवासभा । संखुवासभा सदरमुकाम खाँदबारीमा युनाइटेड वर्ल्ड स्कूल (युडब्लुएस) नेपालले गुणस्तरीय शिक्षा लागि जिल्लाका स्थानीय तहका जनप्रतिनिधिसँग अन्तरक्रिया गरेको छ । आधुनिक प्रविधिसहितको गुणस्तरीय शिक्षा लागि युडब्लुएस संखुवासभाले स्थानीय तहका जनप्रतिनिधि र सरोकारवाला निकायसँग अन्तरक्रिया गरेको हो । गुणस्तरीय शिक्षाको प्रवर्द्धनमा युडब्लुएस नेपाल र स्थानीय तहको भूमिकाबारे अन्तरक्रिया गरेको जनाएको छ ।

आधुनिक प्रविधिसहित अध्ययन तथा सिकाइ विधिको माध्यमबाट ग्रामिण तथा सिमान्तकृत समुदायका बालबालिकाहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि संखुवासभाका स्थानीय तहका जनप्रतिनिधि र सरोकारवाला निकाय सँग युडब्लुएस नेपालका अध्यक्ष खेमराज खड्काले जानकारी दिए ।

सामुदायिक विद्यालयअन्तर्गत आधारभूत तहमा अध्ययनरत बालबालिकाको शिक्षालाई गुणस्तरीय बनाउने उद्देश्य राखेर संस्थाले आफ्नो गतिविधि गर्दै आएको अध्यक्ष खड्काले बताए । युनाइटेड वर्ल्ड स्कूलले नेपालको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि संचालन गरेका परियोजनाको उद्देश्यहरु प्रस्तुत गर्दै गुणस्तरीय शिक्षा प्रवर्द्धनमा स्थानीय तहका जनप्रतिनिधिसँग सुझाव समेत संकलन गरेको छ । कायक्रममा गुणस्तरीय शिक्षा प्रवर्द्धनमा टेवा पुर्याउने उद्देश्यसहित युडब्लुएस नेपालले आफ्नो परियोजना (कार्यक्रम) सञ्चालन गरी भौतिक पूर्वाधार लगायतमा लगानी गर्नेबारे जानकारी गराइएको थियो ।

२०७२ सालमा स्थापना भएको संस्थाले हाल सङ्खुवासभा, गुल्मी र ताप्लेजुङ जिल्लामा ७६ वटा विद्यालय भवन निर्माण गरिसकेको संस्थाका शिक्षा विभाग प्रमुख आशिष अधिकारीले जानकारी दिए । परियोजना कार्यान्वयन संस्था र सम्बन्धित स्थानीयबीच सहकार्य र साझेदारीमा गरिने बताइएको छ ।

परियोजनाअन्तर्गत भवन निर्माण गर्दा आधारभूत तहको कक्षा १–५ सम्मको विद्यालयमा आठ कोठे र १–८ कक्षा सञ्चालित विद्यालयमा ११ कोठे भवन निर्माण गर्ने गरेको अधिकारीले जानकारी दिए । प्रविधिसहितको सिकाइ, खेलकुद सामग्री, दक्ष शिक्षकका लागि तालिम र बिद्यार्थी सहयोग कार्यक्रमसहितका गतिविधि पनि संस्थाले गर्ने उनको भनाइ छ ।

हाल परियोजना कार्यान्वयनमा रहेका जिल्लाबाहेक भोजपुर, धनकुटा, तनहुँ र हुम्लामामा विस्तार गर्ने तयारी रहेको युडब्लुएसले जनाएको छ । पाँच वर्षपछि युडब्लुएसले विद्यालयलाई समुदायमा हस्तान्तरण गर्ने गरेको छ । हाल सम्म १३ विद्यालय हस्तान्तरण गरी सकेको संस्थाले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org