ताजा समाचार

बालकुमारी घटनामा मृतकका परिवारलाई सरकारले १०-१० लाख दिने

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मीक बैठकले बालकुमारीमा भएको घटनामा मृत्यु भएका दुई युवकको परिवारलाई १०–१० लाख रूपैयाँ दिने निर्णय गरेको छ।

शनिबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले मृतकका परिवारलाई दस–दस लाख रूपैयाँ दिने र घाइतहरूको उपचार सरकारले गर्ने निर्णय भएको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिएकी छन्।

मन्त्री शर्माका अनुसार बैठकले शुक्रबारको घटनाबारे दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारप्रति समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्ने निर्णय गरेको छ।

घटनाबारे निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्ने र भविष्यमा यस्ता प्रकृतिका घटना हुन नदिन गृह मन्त्रालयले सुरक्षा निकाय र अन्य सम्बद्ध निकायलाई थप सतर्क संयमित तथा प्रभावकारी बनाउने भन्ने पनि निर्णय पनि आजको मन्त्रिपरिषद् बैठकबाट भएको मन्त्री शर्माले जानकारी दिइन्।

बैठकले आगामी दिनमा यस्ता घटना हुन नदिन र शान्ति सुरक्षा कायम गर्न सरकार प्रतिबद्ध रहेकाले घटनालाई संयमतापूर्वक लिई शान्ति सुरक्षाको वातावरण बिग्रन नदिन सबैलाई आह्वान समेत गरेको छ।

शुक्रबार इपिएस भाषा परीक्षाको विषयलाई लिएर आन्दोलित भएकाहरूले बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री चढ्ने सरकारी गाडीमा आगजनी गरेपश्चात तनावग्रस्त बनेको ग्वार्को क्षेत्रमा प्रहरीले लाठी चार्ज, अश्रुग्यास र गोलीसमेत चलाउँदा २३ वर्षीय सुजन रावत र २२ वर्षीय वीरेन्द्र शाहको मृत्यु भएको थियो।

बालकुमारीमा भएको प्रदर्शनका क्रममा राज्य पक्षबाट कमजोरी भएको स्वीकार्दै सरकारले ललितपुरका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र ईपीएस कोरिया शाखाका निर्देशकलाई जिम्मेवारीबाट हटाउने निर्णय समेत गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org