ताजा समाचार

नेपाल प्रहरी साहित्य, कला तथा संस्कृति संरक्षण तथा सम्बर्धनमा तल्लीन: प्रहरी महानिरीक्षक कुँवर

काठमाडौं । नेपाल प्रहरी राज्यको कानुन कार्यान्वयन, भौतिकदेखि बौद्धिक सम्पत्ति संरक्षणको जिम्मेवारी पाएको भएपनि सुरक्षाका साथै साहित्य, कला तथा संस्कृति संरक्षण तथा सम्बर्धनका क्षेत्रमा समेत तल्लीन रहँदै आएको महानिरीक्षक बसन्त बहादुर कुँवरले बताएका छन्।

शनिबार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित प्रहरी नायव महानिरीक्षक रविन्द्र केसीद्वारा लिखित ‘सम्बन्धको दोबाटो’ नामक कथासङ्ग्रह लोकार्पण समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले यस्तो बताएका हुन् ।

महानिरीक्षक कुँवरले प्रहरी सेवा र साहित्य रचना फरक विधा जस्तो लागेता पनि कला, साहित्य र सिर्जना हरेक कार्य प्रकृतिसँग अन्तरसम्बन्धीत रहने चर्चा गर्दै नागरिक सेवामा खटिँदा देखे भोगेका विषयलाई समाजको दर्पणको रूपमा सर्जकले लिपिबद्ध गरी भरपूर सुगन्ध पस्केको उल्लेख गरे ।

नेपाल प्रहरीका अग्रज सदस्यहरूले साहित्य रचना र सिर्जनाका माध्यमबाट नेपाली साहित्य क्षेत्रमा गर्विलो छाप छोडेको स्मरण गर्दै संगठनका सदस्यबाट सिर्जित कथासङग्रह लोकार्पण गर्न पाउँदा गौरवान्वित महसुस भएको समेत उनले बताए ।

उक्त कार्यक्रममा डा.धुर्ब चन्द्र गौतम र हरि अधिकारीले शुभकामना मन्तव्य राख्दै कथाकार केसी आफ्नो पेशाको साथै साहित्यकर्ममा समेत इमानदार, निष्ठावान र सफल रहेको चर्चा गरे । राजकुमार बानियाँ र ज्ञानु अधिकारीले पुस्तकको समीक्षा गर्दै पुस्तकमा समेटिएका कथाका विषयवस्तु एवं लेखकको लेखन कौशलताका बारेमा चर्चा गरेका थिए ।

समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारी, अवकाश प्राप्त एवम् वहालवाला वरिष्ठ प्रहरी अधिकृतहरू, साहित्यकारहरू, विभिन्न सञ्चारमाध्यमका सञ्चारकर्मीहरू लगायतको उपस्थिति रहेको थियो ।

समारोहका प्रमुख अतिथि प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरका साथै विशिष्ट अतिथिहरूले संयुक्त रुपमा कथासङ्ग्रह लोकार्पण गरेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org