ताजा समाचार

नेत्रहीनहरुको सहयोगार्थ ‘अँध्यारोमा खानपिन’ कार्यक्रम आयोजना

काठमाडौं । झापा नेत्रहीन सङ्घले ‘अँध्यारोमा खानपिन’ कार्यक्रमको आयोजना गरेर दृष्टिसम्बन्धी अपाङ्गता भएका विद्यार्थीलाई सहयोग जुटाएको छ ।

विर्तामोडको सिटीसेन्टरमा शनिबार साँझ भएको कार्यक्रममा सहभागिताका लागि जनप्रतिनिधि, सामाजिक सङ्घसंस्थाका अगुवा र व्यवसायीले रु सात सय शुल्क तिरेर प्रवेश टिकट खरिद गरेका थिए ।

सहभागीलाई अँध्यारोमा राखेर खानपिन गराइएको उक्त कार्यक्रममा कोशी प्रदेश सरकारका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य एकराज कार्कीले आँखामा पट्टी बाँधेर सेतो छडीमा हिँडेर उद्घाटन गरेका थिए ।

दृष्टिसम्बन्धी अपाङ्गता भएका व्यक्तिले कस्ता समस्या भोगिरहेका हुन्छन् भनेर अनुभूति गराउन एकछिन भए पनि उनलाई सेतो छडीको साहारामा आँखा छोपेर हिँड्न लगाइएको नेपाल नेत्रहीन सङ्घका केन्द्रीय महासचिव शिशिर खनालले बताए ।

उनले देशभरका हजारौँ दृष्टिसम्बन्धी अपाङ्गता भएका व्यक्तिले दया होइन अवसर खोजिरहेको बताए । उच्च शिक्षा र प्राविधिक सीप प्राप्त उनीहरुलाई रोजगारी दिएर क्षमताको प्रयोग गर्ने अवसर प्रदान गर्न स्थानीय सरकारलाई आग्रह गरे ।

कार्यक्रममा भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल, कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेल, हल्दीबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देन, विर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र सङ्ग्रौला, कचनकबल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराई लगायतको उपस्थिति थियो ।

सहभागीहरुले खानपिनका लागि तिरेको शुल्कले दृष्टिसम्बन्धी अपाङ्गता भएका विद्यार्थीको शिक्षाका लागि रेकर्डिङ स्टुडियो सञ्चालनमा खर्च गरिने नेत्रहीन सङ्घका सचिव दिलकुमार राजवंशीले बताए।

स्वास्थ्यकर्मी विनोद दाहालले ‘अँध्यारोमा खानपिन’ कार्यक्रम नेपालमा पहिलोपल्ट देख्न पाएको बताए । विदेशमा सामाजिक संस्थाले आयोजना गरेको यस्तै कार्यक्रममा सहभागिताको अनुभव रहेको उनले सुनाए । कार्यक्रममा राष्ट्रिय कलाकार रमेश प्रसाईं र डम्बर नेपालीले साङ्गीतिक प्रस्तुति दिएका थियो । दृष्टिसम्बन्धी अपाङ्गता भएका स्थानीय कलाकारले उक्त अवसरमा गीत र मुक्तक सुनाउनुभएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org