ताजा समाचार

आईसीसी यू–१९ विश्वकपमा नेपालले पाकिस्तानसामु १९८ रनको लक्ष्य प्रस्तुत

काठमाडौं । आईसीसी यू–१९ विश्वकपमा नेपाली युवा टिमले पाकिस्तानसामु १९८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्कमा जारी खेलमा टस जितेर ब्याटिङमा आएको नेपालले निर्धारित ५० ओभर खेल्दै सबै विकेट गुमाएर १९७ रनको योगफल खडा गर्दै १९८ रनको लक्ष्य प्रस्तुत गरेको हो । पाकिस्तानविरुद्ध नेपालका ओपनर विपीन रावलले ३९ रन बनाए । उनले ६८ बलमा चार चौका र एक छक्का प्रहार गरे । दीपक डुम्रेले २६ रन थपे । विपीन र दीपकले यसअघि न्युजिल्यान्डविरुद्धको खेलमा मौका पाएका थिएनन् ।

यस्तै, नेपाली टिमको स्कोरबोर्डमा कप्तान देव खनालले २३ रन जोडे । सुवास भण्डारीले २० रन बनाउँदा आकाश चन्दले १६ र दीपेश कंडेलले १३ रन थपे । यसअघि पहिलो खेलमा न्युजिल्यान्डविरुद्ध ९० रन बनाएका ओपनर अर्जुन कुमाल भने आज ६ रनमा आउट भए ।

नेपालविरुद्ध पाकिस्तानका अराफत मिनहारसले तीन विकेट लिए । १० ओभर बलिङ गरेका अराफतले दुई मेडन फ्याक्दै २३ रन खर्चिए । अहमेद हुसेन र उबैद साहले दुई–दुई विकेट लिँदा खुबइब खालिल, मोहम्मद जिसान र अली अस्फन्दले समान एक विकेट लिए ।

प्रतियोगितामा दुवै टिमको यो दोस्रो खेल हो । यसअघि पहिलो खेलमा नेपालले न्युजिल्यान्डसँग ६४ रनको हार व्यहोर्दा पाकिस्तानले अफगानिस्तानलाई १८१ रनले हराएको थियो । प्रतियोगिताको नेपाल समूह ‘डी’मा छ । यो समूहमा नेपालसँगै पाकिस्तान, अफगानिस्तान र न्युजिल्यान्ड छन् । आजको खेलपछि नेपालले समूह चरणको अन्तिम खेलमा जनवरी २७ मा अफगानिस्तानविरुद्ध खेल्नेछ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org