ताजा समाचार

तराई-मधेशमा एक महिनादेखि हुस्सु र कुहिरो, जनजीवन कष्टकर

विराटनगर । लगातारको हुस्सु र कुहिरोले तराई-मधेशको जनजीवन कष्टकर बनेको छ । झण्डै एक महिनादेखि हुस्सु कुहिरो लागिरहेको पश्चिम तराईमा बितेका केही दिनदेखि दिनभर नै बाक्लो हुस्सु लाग्ने गरेको छ । घर बाहिर एकछिन हिँड्दा पनि शरीर भिजाउने गरी शितलहर चल्ने गरेको स्थानीय बताउँछन् । समग्र तराई मधेशमै बाक्लो हुस्सु र कुहिरो लाग्ने गरेकोमा पूर्वी क्षेत्रमा दिउँसोपछि केही खुल्ने भए पनि पश्चिम तराईमा बेलुकासम्मै हुस्सु लाग्ने देखिएको मौसम पूर्वानुमान् महाशाखाका मौसमविद् गोविन्द झाले जानकारी दिनुभयो ।

अहिले पनि तराई मधेशको सबैजसो क्षेत्रमा बाक्लो हुस्सु लागिरहेको मौसम पूर्वानुमान् महाशाखाले नियमित बुलेटिनमार्फत जानकारी गराएको छ । तराई मधेशमा आउँदो तीन दिनसम्म नै हुस्सु कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । लगातारको बाक्लो हुस्सु र कुहिरोका कारण घाम झुल्किन नसकेपछि बढेको जाडोले जनजीवन कष्टकर बनेको धनगढीकी माया जोशीले बताउनुभयो।

चिसोबाट वृद्धवृद्धा, स्कुले बालबालिका र दैनिक मजदुरी गरेर जीविका चलाउने बढी प्रभावित भएका छन् । घाम झुल्किन नपाउँदा महिना दिनदेखि घरमा धोएको लुगा सुकाउन पनि समस्या भएको जोशीले बताउनुभयो ।

जाडो बढेपछि धनगढीबाट झण्डै ३५ किलोमिटर उत्तरतर्फ चुरे पहाडी क्षेत्रका डाँडामा लागेको घाम ताप्न तराईका बासिन्दा पुग्न थालेका छन् । धनगढीबाट कैलालीको चुरे पहाडी क्षेत्र पुगेका पत्रकार श्रवण देउवाले दिउँसोको समयमा घाम लाग्ने चुरे पहाडका डाँडामा धेरै मान्छेले घाम तापिरहेको दृश्य देखिएको बताउनुभयो । हिँउदेयाममा निरन्तरको शीतलहरसँगै देखिने डढुवा रोगले तराईका कैलालीसहितका जिल्लामा आलु, गोलभेडा लगाएको तरकारी बालीमा क्षति पुर्‍याउने गरेको छ । अझै केही दिन चिसो बढ्ने मौसमविदले बताएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org