ताजा समाचार

सैनिकहरूमाथि घातक हमलापछि अमेरिकालाई धम्की नदिन इरानको चेतावनी

न्यूयोर्क । अमेरिकाले जोर्डनमा तीन अमेरिकी सेनाको ज्यान जाने गरी भएको आक्रमणको जवाफ दिने निर्णय गरेपछि इरानले अमेरिकालाई धम्की नदिन चेतावनी दिएको छ ।

“अमेरिकाले धम्की र प्रक्षेपणको भाषा बन्द गर्नुपर्छ र राजनीतिक समाधानमा ध्यान केन्द्रित गर्नुपर्छ”, आधिकारिक आइआरएनए समाचार एजेन्सीका अनुसार इरानका विदेशमन्त्री होसेन अमिर–अब्दुल्लाहियानले भन्नुभयो, “धम्कीप्रति इरानको प्रतिक्रिया निर्णायक र तत्काल छ ।”
आइतबार ड्रोन आक्रमणमा अमेरिकी सैनिकहरूको हत्या अक्टोबर ७ मा इजराइल–हमास युद्ध सुरु भएपछि यस क्षेत्रमा शत्रुतापूर्ण गोलाबारीमा पहिलो अमेरिकी सैन्य क्षति हो ।

‘कट्टरपन्थी इरान समर्थित आतङ्कवादी समूह’ लाई दोषी ठहर गर्नुभएका अमेरिकी राष्ट्रपति जो बाइडेनले आफूले प्रतिक्रियाप्रति निर्णय लिएको तर मध्यपूर्वमा व्यापक युद्धको माग नगरेकामा जोड दिनुभयो । ह्वाइट हाउसले चेतावनी दिँदै आक्रमणको प्रतिशोधमा ‘धेरै कारवाही’ गर्न सकिने बताएको छ । यद्यपि उसले थप विवरण केही दिएको छैन ।

आइआरएनएको रिपोर्टअनुसार बुधबार इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्सका प्रमुख जनरल होसेन सलामीले अमेरिकी अधिकारीहरूको धम्कीहरू ‘अनुत्तरित नहुने’ बताउनुभयो । “हामी युद्धको खोजीमा छैनौँ तर युद्धसँग डराउँदैनौँ”, उहाँले भन्नुभयो ।

इरानले अमेरिकी सैनिकहरूमाथि आक्रमणसँग कुनै पनि प्रकारको सम्बन्धलाई अस्वीकार गरेको छ र मध्यपूर्वमा युद्धको ‘विस्तार’ नचाहेको बताएको छ । इजराइल–हमास युद्धपछि सिरिया, इराक, लेबनान र यमनमा इरान समर्थित समूहरू समावेश हुँदा क्षेत्रीय तनाव बढेको छ । इस्लामिक गणतन्त्र इरानले यसअघि नै यस क्षेत्रका ‘प्रतिरोधी समूहहरू’ लाई समर्थन गर्ने ‘कर्तव्य’ मानेको तर निर्णय लिन र कारवाही गर्न ‘स्वतन्त्र’ रहेको बताएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org