ताजा समाचार

कुवेतलाई ८ विकेटले हराउँदै नेपाल महिला क्रिकेटको सेमिफाइनलमा

काठमाडौं । मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कप क्रिकेटमा नेपालले कुवेतमाथि ८ विकेटको जित हात पारेको छ । यो जितसँगै नेपाल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

वर्षाले प्रभावित खेलमा जितक लागि पाएको ५० रनको लक्ष्य नेपालले ६।५ ओभरमा २ विकेट गुमाउँदै भेट्टायो । नेपाललाई जिताउन कप्तान इन्दु बर्माले नट आउट २२ रन बनाइन् । सीता राना मगर १७ रनमा आउट भइन् ।

यसअघि टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको कुवेतले २० ओभरमा ९ विकेट गुमाउँदै ७३ रन बनाएको थियो । तर बीचमा वर्षाले खेल रोकिएपछि नेपालले १२ ओभरमा ५० रन बनाउनु पर्ने लक्ष्य पाएको थियो । जुन नेपालले सहजै भेट्टायो ।

कुवेतलाई ७३ रनमा रोक्ने क्रममा सीता राना मगरले ह्याट्रिक विकेट लिइन् । उनले १३ ‌औं ओभरको दोस्रो बलमा २९ रन बनाएकी ओपनर प्रियदा मुरलीलाई एलबीडब्लूको धरामा पारिन् ।

तेस्रो बलमा मार्याम ओमरलाई विकेट किपर काजल श्रेष्ठको हातबाट स्टम्पिङ्ग गरिन् ।चौथो बलमा कप्तान अम्ना सरिफलाई एलबीडब्लू आउट गरिन् । यस्तै रुबिना क्षेत्री र कविता कुँवरले समान २ विकेट लिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org