ताजा समाचार

पूर्वसचिव भीम उपाध्याय सहित १५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार गरेको अभियोगमा पूर्वसचिव भीम उपाध्याय, गजेन्द्रकुमार ठाकुर र सञ्जय शर्मासहित १५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लामो समय अनुसन्धानपछि आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

भ्याटबाहेक ७ अर्ब ७२ करोड रुपैँयामा ठेक्का सम्झौता गर्दा सम्झौता विपरित कानुनले तोके भन्दा बढी पेस्की मोबिलाईजेशन गरेको आरोप उनीहरुमाथि छ । आयोगले मेलम्ची खानेपानी विकास समितिका तत्कालीन बोर्ड सदस्य रुद्रसिंह तामाङ विरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ । तामाङ हाल अध्यागमन विभागका महानिर्देशक छन् ।

सचिवहरु क्रमशः शर्मा, उपाध्याय, गजेन्द्रकुमार ठाकुरविरुद्ध आयोगले क्रमशः ६ करोड ९७ लाख ८३ हजार एक सय ७८ रुपैँया ९६ पैसा, चार करोड ११ लाख ३४ हजार दुई सय ७९ रुपैँया ९२ पैसा र ६० करोड ४९ लाख १९ हजार ८ सय ८४ रुपैँया ३१ पैसा विगोसहितको मागदावी लिएको छ ।

यसैगरी परामर्शदाताहरु तथा निर्माण कम्पनीउपर पनि सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै आरोप(पत्र दायर भएको अख्तियारले जनाएको छ ।

त्यस्तै, अख्तियारले चन्द्रबहादुर थापा, मणिचन्द्र न्यौपाने, रामचन्द्र न्यौपाने, वेगनाथ पौडेल, केदारप्रसाद अर्याल, भोजविक्रम थापा, शिवकुमार शर्मा, परामर्शदाता इप्तिसा सर्भिसेज डी इन्जिनीयरिङ एसएल र बीईटीई कन्सल्टिङ सर्भिसेज लिमिटेड जेभी र निर्माण व्यवसायी सीएमसी डी रभेनालाई पनि प्रतिवादी बनाएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org