ताजा समाचार

करप्सनको क्षेत्र नेपालभित्र होइन बाहिर गएर डिलिङ हुन थालेको छ: अख्तियार प्रमुख राई

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले नेपालभित्रको भ्रष्टाचारको कारोबार पनि विदेशमा हुने गरेको बताएका छन् ।मंगलबार प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले विदेशमा हुने भ्रष्टाचारको कारोबारको सूचना पाउन धेरै मुश्किल भएको बताए ।

‘करप्सनको क्षेत्र नेपालभित्र होइन बाहिर गएर डिलिङ हुन थालेको छ, ती देशबाट सूचना प्राप्त गर्न समस्या छ’, उनले भने । नेपालले अरु देशहरुसँग पारस्परिक कानुनी सहायतासम्बन्धी द्विपक्षीय समझदारी नगरेकाले अहिले ती देशका निकायहरुले सूचना दिन अस्वीकार गरेको प्रमुख आयुक्त राईले बताए ।

नेपाल एयरलाइन्सको वाइडबडी विमान खरिदसम्बन्धी कतिपय सूचनाहरु अरु देशका निकायहरुसँग लिनुपर्ने देखिएको तर पारस्परिक कानुनी सहायतासम्बन्धी समझदारी नहुँदा लिन नसकेको उनको भनाइ छ ।

‘वाइवडबडी खरिदको सम्वन्धमा अनुसन्धान गरिरहेका छौं, करिब करिब अन्तिम चरणमा पुर्‍याएका छौं । अनुसन्धानकै विषय भएकाले त्यो भन्दा बढी भन्दिन’, उनले भने, ‘राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रबाट सूचना संकलन गर्नुपर्ने अवस्था हो । तर अन्तर्राष्ट्रिय क्षेत्रबाट सूचना ल्याउन धेरै कठिनाइ छ ।’

प्रमुख आयुक्त राईका अनुसार धेरै निकायमा सूचना लिन पत्राचार गरे पनि देशहरुबीच द्विपक्षीय समझदारी नभएको कारण देखाएर सूचना दिन अस्वीकार गरेका छन् । ‘नेपाल सरकारले चाँडो भन्दा चाँडो हामीलाई आवश्यक पर्ने देशसँग बाइल्याटरल एग्रिमेन्ट गर्नुपर्छ, त्यो गरिसकेपछि संसदबाट अनुमोदन गरिनुपर्छ । अहिलेसम्म एउटा देशसँग (बाइल्याटरल एग्रिमेन्ट) भएको होला त्यो पनि संसदबाट अनुमोदन भएको छैन’, उनले भने । पारस्परिक कानुनी सहायतासम्बन्धी द्वीपक्षीय समझदारी गर्न सरकारलाई संसदीय समितिले निर्देशन दिनुपर्ने प्रमुख आयुक्त राईले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org