ताजा समाचार

बालविवाह रोक्न निमन्त्रणा ‘कार्ड’ मै बेहुला-बेहुलीको जन्ममिति अनिवार्य

काठमाडाैँ । रुकुमपश्चिमको आठबीसकोट नगरपालिका-३ ले बालविवाह न्यूनीकरण तथा मदिरा र सुर्तीजन्य पदार्थ  बिक्री वितरण तथा सेवन नियन्त्रण गर्न सक्रियता देखाएको छ ।

वडाले बालविवाह हुन नदिन विवाहको निमन्त्रणा कार्डमा अनिवार्य बेहुला र बेहुलीको जन्ममिति उल्लेख गर्नुपर्ने प्राबधान कार्यान्वयनमा ल्याएको छ ।  आठबीसकोट-३ का वडाध्यक्ष केशरमान विकले बालविवाह हुन नदिन विवाहको निमन्त्रणा ‘कार्ड’मा अनिवार्य रूपमा बेहुला र बेहुलीको जन्ममिति उल्लेख गर्नुपर्ने प्रावधान कार्यान्वयनमा ल्याएको जानकारी दिए ।

उनले वडामा बालविवाहसँगै मदिरा र सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न पहल थालिएको बताए । विवाहका अवसरमा मदिरा र सुर्तीजन्य पदार्थको प्रयोग हुने भएकाले वडाले विवाह कार्डमै मदिरा र सुर्तीजन्य पदार्थ प्रयोग नगर्ने/नगराउने प्रतिबद्धता जनाउनुपर्ने व्यवस्था लागू गरेको उनले बताए । वडामा यस वर्ष १० जोडीले बालविवाह गरेको तथ्यांक छ । यस वर्ष उमेर नपुगेर विवाह गर्न लागेका एक जोडीको विवाहसमेत वडा कार्यालयले रोकेको जनाएको छ ।

सामाजिक तथा आर्थिकरूपमा पनि बालविवाहले समाजमा नकारात्मक प्रभाव पार्ने भएकाले वडामा बालपिववाह र मदिराजन्य पदार्थमा कडाइ गरिएको वडाध्यक्ष विकको भनाइ थियो ।  ‘विवाह कार्डमा जोडीको सही जन्ममिति उल्लेख गरे/नगरेको थाहा पाउन वडा कार्यालयमा जन्मदर्तालगायत अन्य विवरणको अभिलेख हुने भएकाले सजिलो छ । वडाभन्दा बाहिरबाट विवाह गर्नेको हकमा सम्बन्धित वडा कार्यालयसम्म समन्वय गर्नेगरी लागेका छौँ । बालविवाह रोक्न समुदायको पनि राम्रो साथ मिलेको छ,’ वडाध्यक्ष विकले भने ।

वडाको नियम उल्लङ्घन गरेमा कानुनबमोजिम कारबाही गरिनेसमेत वडा कार्यालय जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org