ताजा समाचार

जसपाकी प्रतिनिधिसभा सांसद मन्जु शर्मा अन्सारीको निधन

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का तर्फबाट समानुपातिक सांसद बनेकी प्रतिनिधिसभा सदस्य मन्जु शर्मा अन्सारीको निधन भएको छ । उपचारका क्रममा आइतबार बिहान मीनभवनस्थित सिभिल अस्पतालमा उपचारका क्रममा अन्सारीको निधन भएको जसपाले जनाएको छ ।

हृदयाघातका कारण उनको निधन भएको जसपाका प्रवक्ता मनीष सुमनले जानकारी दिए । “विगत केही दिनदेखि उहाँ (सांसद मन्जु शर्मा)लाई गाह्रो भएको थियो । राति थप गाह्रो भएपछि अस्पताल लगियो । बिहान निधन भयो,” सुमनले भने ।

वि.सं.२०२० साल माघ १९ गते जन्मिएकी अन्सारी २०७९ चैत १९ गते प्रतिनिधिसभा सदस्य बनेकी थिइन् । जसपाबाट समानुपातिक निर्वाचन प्रणालीमार्फत प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित शहनाज रहमानको २०७९ फागुन १३ गते निधन भएपछि रिक्त स्थानमा उनी सांसद बनेकी थिइन् ।

२०४६ सालको आन्दोलन देखि राजनीतिक यात्रा सुरुआत गरेकी उनी सद्भावना पार्टीमा आबद्ध भई २०४६ सालदेखि २०५६ सम्म उपत्यका महिला इन्चार्जको जिम्मेवारी सम्हालेकी थिइन् । उनी हाल जनता समाजवादी पार्टी, नेपालको पोलिटब्यूरो सदस्य थिइन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org