ताजा समाचार

प्रचण्डको निर्देशनविरुद्ध विश्वासको मत लिँदै कर्णालीका मुख्यमन्त्री

काठमाडाैँ । सत्ता गठबन्धन दलहरुबीच प्रदेश बाँडफाँडमा सहमति जुटेको छ ।

सोमबार काठमाडौंमा बसेको एमाले–माओवादीसहित सत्ता गठबन्धनको बैठकले लुम्बिनी माओवादीले र कर्णाली प्रदेशको नेतृत्व एमालेले लिने सहमति भएको हो । माओवादीले नेतृत्व गर्दै आएको कर्णाली प्रदेश सरकारको नेतृत्व नेकपा एमालेले लिने सहमति भएपछि कर्णालीमा माओवादीभित्रै विवाद सुरु भएको छ ।

सत्तारुढ गठबन्धनको केन्द्रीय सहमति अनुसार पहिलो चरणमा कर्णालीको नेतृत्व एमालेलाई दिने सहमति भएको र त्यसको सर्कुलर आइसकेको नेकपा माओवादी केन्द्रका प्रदेश इन्चार्ज कालिबहादुर मल्लले बताए ।
केन्द्रबाट सर्कुलर आएपनि कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले आज मंगलबार दिउँसो ३ बजे प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन् ।

प्रधानमन्त्री एवम् माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार बेलुका कर्णाली सरकारको नेतृत्व एमालेलाई छोडेर आवश्यक सहयोग गर्न मुख्यमन्त्री शर्मालाई निर्देशन दिएका थिए ।
तर मुख्यमन्त्री शर्माले ‘केन्द्रको निर्णय ढिला आएको र संवैधानिक प्रक्रिया अनुसार अगाडि बढिसकेकाले निर्णय कार्यान्वयन गर्न नसकिने’ जवाफ दिँदै निर्देशन विपरीत विश्वासको मत लिन लागेका हुन् ।

माओवादी उपमहासचिव जनार्दन शर्माले कर्णालीमा माओवादीकै मुख्यमन्त्रीको निरन्तरता हुनुपर्ने भन्दै पार्टी अध्यक्ष प्रचण्डलाई दबाब दिइरहेका थिए । यो सहमति अनुसार एमालेले मुख्यमन्त्री पाए एमाले प्रदेश संसदीय दलका नेता यामलाल कँडेल मुख्यमन्त्री बन्नेछन् ।

४० सदस्यीय कर्णाली प्रदेश सभामा सरकार बनाउन २१ सांसदको समर्थन आवश्यक पर्छ । प्रदेश सभामा माओवादीका १३, एमालेका १० र एकीकृत सामाजवादीका १ सांसद रहेका छन् । त्यस्तै कांग्रेसका १५ र राप्रपाका १ सांसद छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org