ताजा समाचार

पुल निर्माणमा ढिलाइ

काठमाडौं । बागलुङको बडिगाडखोलामा मोटरेवल पुल निर्माण गर्न थालेको चार वर्ष बित्यो । तर हालसम्म सम्पन्न हुन सकेको छैन ।बडिगाड गाउँपालिका–७ भिमगिठे बजार र मालारानी गाउँ जोड्ने गरी २०७७ कात्तिक २७ गते सम्झौता भएको थियो । हालसम्म ८० प्रतिशत मात्रै काम सम्पन्न भएको छ ।

विसं २०७९ फागुनमा निर्माण सक्ने सम्झौता भए पनि दुई पटक म्याद थप गरिएको छ । पुल निर्माण नहुँदा स्थानीयले सास्ती खेप्नुपरेको छ । पुल दुई वर्ष चार महिनामा सक्ने गरी निर्माण कम्पनीले जिम्मा लिएको थियो । पुल नबन्दा बजारबाट दैनिक उपभोग्य सामान ओसारपसार गर्न समस्या भएको छ ।

मध्यपहाडी लोकमार्गमा पर्ने भिमगिठे बजारदेखि बडिगाडखोला तरेपछि मात्रै मालरानी गाउँ पुग्न सकिन्छ । हिउँदको समयमा जसोतसो गाडी तरे पनि बर्खाको पाँच महिना यातायात ठप्प हुने स्थानीय मीनबहादुर खत्रीले बताउनुभयो । बडिगाडखोलामा हिउँदमा पानीको मात्रा अत्यधिक हुन्छ । यातायातका साधन वारपार गर्न समस्या हुने गरेको उहाँको भनाइ छ । निर्माण कम्पनीको ढिलासुस्तीका कारण हालसम्म पुल बन्न नसकेको खत्री बताउनुहुन्छ । गाडी नचल्दा स्थानीयले झोलुङ्गे पुलमार्फत बोकेरै सामान बजारदेखि गाउँ पु¥याउने गरेका छन् ।

‘बर्खामा गाडी चल्दैनन्, गाउँमा सामान बोकेरै ल्याउनुपर्छ, बिरामी बोकेर अस्पताल लैजानुपर्छ,’ खत्रीले भन्नुभयो ।

पुल निर्माण गर्न दुई पटक म्याद थप गरेको सडक डिभिजन कार्यालय बागलुङका सूचना अधिकारी इन्जिनियर अमर अधिकारीले जानकारी दिनुभयो । असार मसान्तसम्म सक्ने गरी कामदार लगाएर धमाधम काम गरिरहेको उहाँको भनाइ छ । पुल रु सात करोड ६६ लाखको लागतमा निर्माण गर्न लागिएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org