ताजा समाचार

स्लोभाक प्रधानमन्त्री फिकोमाथि भएको आक्रमण कायरतापूर्ण कार्य: प्रधानमन्त्री मोदी

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि भएको गोली प्रहारलाई ‘कायरतापूर्ण र डरलाग्दो कार्य’ भएको निन्दा गर्दै प्रधानमन्त्री फिकोको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

‘स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि गोली प्रहारको खबरले गहिरो आघात लाग्यो । म यो कायरतापूर्ण कार्यको कडा निन्दा गर्दछु र प्रधानमन्त्री फिकोको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । भारत स्लोभाक गणतन्त्रका जनतासँग एकतामा उभिएको छ’, सामाजिक सञ्जाल एक्समार्फत प्रधानमन्त्री मोदीले भन्नुभयो ।

स्लोभाकियाका चौथो पटक प्रधानमन्त्री रहनुभएका रोबर्ट फिको बुधबार (स्थानीय समय) ह्यान्ड्लोभामा गोली प्रहारमा परी घाइते हुनुभएको स्थानीय पत्रिका द स्लोभाक स्पेक्टेटरले जनाएको छ । आक्रमणपछि उहाँलाई अस्पतालमा भर्ना गरिएको थियो ।

प्रधानमन्त्री फिको मानिसहरूलाई भेट्न निस्किँदा घटनास्थलमा गोली प्रहार गरिएको थियो भने आरोपित आक्रमणकारीलाई घटनास्थलमै पक्राउ गरिएको थियो र उक्त क्षेत्र खाली गराइएको थियो ।

प्रत्यक्षदर्शीका अनुसार प्रधानमन्त्री फिको उहाँलाई स्वागत गर्ने मानिसहरूलाई भेट्न बाहिर आएपछि गोलीको आवाज सुनिएको थियो । त्यसपछि फिकोलाई रगतमा लतपतिएको अवस्थामा भुइँमा लडेको पाइएको थियो ।

यो घटना ह्यान्डलोभामा भएको सरकारी बैठकपछि भएको हो र घटनापश्चात प्रधानमन्त्री फिकोलाई तुरुन्त अस्पतालमा भर्ना गरिएको थियो ।

बेलायतका प्रधानमन्त्री ऋषि सुनकले घटनाको बारेमा सुनेर आफू ‘स्तब्ध’ भएको बताउनुभयो । ‘यो भयानक समाचार सुनेर स्तब्ध भएँ । हामी प्रधानमन्त्री फिको र उहाँको परिवारको साथमा छौँ’, सामाजिक सञ्जाल एक्समा प्रधानमन्त्री सुनकले लेख्नुभयो ।

युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले स्लोभाकियाका प्रधानमन्त्रीविरुद्ध हिंसाको निन्दा गर्नुभएको छ । ‘स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि भएको आक्रमण भयावह छ । हामी हाम्रो छिमेकी साझेदार राज्यको सरकारका प्रमुखविरुद्धको हिंसाको कडा निन्दा गर्दछौँ’, जेलेन्स्कीले सामाजिक सञ्जालमा लेख्नुभयो ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org