ताजा समाचार

दुर्लभ पाटे बाघ मृत भेटियो

काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ विनयी खोलाको बगरमा पाटे बाघ मृत भेटिएको छ ।बुधबार साँझ विनयी खोलाको बगरमा पोथी बाघ मृतावस्थामा भेटिएको डिभिजन वन कार्यालयका प्रमुख वसन्त केशव अधिकारीले बताउनुभयो ।

‘विनयी खोलामा पानी पिउँदै गरेको अवस्थामा बाघ देखिएको र पानी पिएको स्थान बाट १०-१२ मिटर हिँडेपछि ढलेको अवस्थामा बाघ भेटिएको हामीलाई खबर आएको थियो’, उहाँले भन्नुभयो, ‘स्थानीयले खबर गरेपछि डिभिजन वन र प्रहरीको टोली घटनास्थलमा पुग्दा बाघ मृत फेला परेको हो ।’

बाघको पछिल्लो भागमा जङ्गली जनावरले टोकेको जस्तो चोट रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले बताउनुभयो । मृत बाघलाई घटनास्थलबाट सब डिभिजन वन कार्यालय दम्किबास लगिएको र आज परीक्षण गरिने उहाँले जानकारी दिनुभयो । बर्दघाट सुस्तापूर्वमा गत फागुनयता योसहित तीन वटा दुर्लभ पाटे बाघ मरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org