ताजा समाचार

यमनमा सरकारी सेना र हुथी विद्रोहीबीच झडप हुँदा १८ लडाकूको मृत्यु

काठमाडौं । यमनको दक्षिणपश्चिम क्षेत्रमा सरकारी सेना र इरान समर्थित हुथी विद्रोहीबीच भएको भिडन्तमा कम्तीमा १८ लडाकूको मृत्यु भएको सैनिक अधिकारीले बिहीबार एएफपीलाई जानकारी दिएका छन् । सरकारसम्बद्ध पृथकतावादी समूह र दक्षिणी सङ्क्रमणकालीन परिषद्का प्रवक्ता मोहम्मद अल–नकिबका अनुसार लाहिज प्रान्तको सरकार नियन्त्रित भाग र ताइज प्रान्तको हुथी नियन्त्रित प्रभावित क्षेत्रमा हुथीले आक्रमण गरेपछि बुधबार झडप भएको हो ।

सन् २०२२ को अप्रिलमा संयुक्त राष्ट्रसङ्घको मध्यस्थतामा भएको छ महिना लामो युद्धविरामको समयावधि सकिएपछि जारी द्वन्द्वमा कमी आएको थियो तर अकस्मात यो आक्रमण भएको छ । नकिबले एएफपीसँग भन्नुभयो, ‘यमनको सरकारी सेनाले आक्रमणलाई प्रतिकार गर्न सफल भएको छ, तर पाँच सैनिकले शाहदत प्राप्त गरेका छन् र अन्य केही घाइते भएका छन् ।’ ताइजस्थित हुथी सेनाका एक अधिकारीले एएफपीलाई दिएको जानकारीअनुसार एक वरिष्ठ कमाण्डरसहित १३ जना विद्रोही मारिएका छन् ।

यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले हुथी आक्रमणलाई ‘विश्वासघाती आक्रमण’ को संज्ञा दिएको छ । बुधबार सामाजिक सञ्जाल एक्समा एक वक्तव्य जारी गर्दै सूचना मन्त्री मोअम्मर अल–एरियानीले यमनको सरकारी सेनाको जवाफी आक्रमणले हुथी लडाकूहरूलाई ठूलो क्षति पुर्याएको बताउनुभएको छ । यमनमा युद्धविराम सहमतिपछि शत्रुता कम भएपनि देशका केही भागहरूमा कहिलेकाहीँ छिटपुट लडाइँहरू भड्किएका छन् ।

गत अप्रिलमा हुथी विद्रोहीसमूहले लाहिज प्रान्तमा गरेको आक्रमणमा यमन सरकारप्रति वफादार ११ जना लडाकू मारिएका थिए । हुथी विद्रोहीले सन् २०१४ मा यमनको राजधानी सानालाई आफ्नो नियन्त्रणमा लिएपछि त्यसको अर्को वर्ष साउदी अरबको नेतृत्वमा सैन्य हस्तक्षेप भएको थियो । नौ वर्षको युद्धको प्रत्यक्ष र अप्रत्यक्ष कारणले हजारौँको मृत्यु भएको छ र यसले संसारको सबैभन्दा खराब मानवीय सङ्कट निम्त्याएको छ ।

गत डिसेम्बरमा यमनका लागि संयुक्त राष्ट्रसङ्घका दूत हान्स ग्रुन्डबर्गले युद्धरत पक्षहरूले नयाँ युद्धविरामका लागि प्रतिबद्धता जनाएको र द्वन्द्व अन्त्यका लागि संयुक्त राष्ट्रसङ्घको नेतृत्वमा शान्ति प्रक्रियामा संलग्न हुन सहमत भएको बताएका थिए । तर गत नोभेम्बरदेखि रेड सीमामा हुथीले पानीजहाजमा गरेको आक्रमणपछि शान्ति प्रक्रिया अवरुद्ध भएको छ, यो अभियान गाजा युद्धका बीच प्यालेस्टिनीहरूप्रति ऐक्यबद्धता जनाउन गरिएको आक्रमण भएको विद्रोहीहरूले बताएका छन् ।

हुथी विद्रोहीले गाजा युद्धको फाइदा उठाउँदै लडाकू, हातहतियार र बन्दोबस्तीका सामान जम्मा गरेको मन्त्री एरियानीले दावी गर्नुभयो ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org