ताजा समाचार

जाँदाजाँदै बहुमतबाट पौडेल र पाण्डेलाई सर्वोच्चको न्यायाधीश बनाउने विश्वम्भर-आनन्दमोहनको योजना तुहियो

काठमाडौं । सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश डा.आनन्दमोहन भट्टराईको बिदाई हुनु दुई घण्टा अगाडि न्याय परिषद्को बैठक डाकियो । शुक्रबार २ बजे सर्वोच्च अदालतमा बिदाई कार्यक्रम तय भइसकेपछि त्यसको ठिक दुई घण्टा अगाडि (१२ बजे) न्याय परिषद्को बैठक डाकिएको हो । न्याय परिषद्का सदस्य समेत रहेका भट्टराईले जाँदाजाँदै आफूले चाहेको मान्छे सर्वोच्च अदालतमा नियुक्त गर्नु थियो । त्यसका लागि प्रधानन्यायाधीश एवं न्याय परिषद्का सदस्य विश्वम्भरप्रसाद श्रेष्ठको पनि स्वार्थ मिलेको थियो । उनीहरूलाई न्याय परिषद् नेपाल बार एसोसिएसनको तर्फबाट गएका अर्का सदस्य रामप्रसाद श्रेष्ठले पनि साथ दिएका थिए ।

त्यसैले बिहीबारकै मिति राखेर सर्वोच्च अदालतमा उच्च अदालतका मुख्य न्यायाधीशद्वय श्रीकान्त पौडेल र नित्यानन्द पाण्डेलाई न्याय परिषद्को बहुमतबाट सर्वोच्चमा ल्याउन उनीहरु मानसिक रूपमा तयार भए । तर, कानुनमन्त्री पदम गिरी काम व्यस्तताले बैठकमा उपस्थित हुन नसकेपछि १० मिनेट बसेर कुनै निर्णय नै नगरी न्याय परिषद्को बैठक स्थगित भयो । कानुनमन्त्री गिरी उपस्थित भएको भए विश्वम्भर, आनन्दमोहन र रामप्रसादले बहुमतबाट सर्वोच्चमा २ न्यायाधीश नियुक्त गर्ने योजना बुनेका थिए । न्याय परिषद्का सदस्य गिरी बैठकमा उपस्थित नभएपछि उनीहरूको योजना तुहियो । न्याय परिषद्का अर्का सदस्य रामप्रसाद भण्डारी पनि उनीहरुको पक्षमा खुल्न सम्भावना न्यून थियो।

सर्वोच्च अदालतमा ४ जना न्यायाधीश रिक्त छन् । तर, अन्तिम अवस्थामा उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र तुलसीपुरका मुख्य न्यायाधीश नित्यानन्द पाण्डेलाई बहुमतबाट सर्वोच्च अदालतमा ल्याउन खोज्नु उनीहरुको निहीत स्वार्थ हो भन्ने प्रस्टै बुझिन्छ । विशेष अदालतको अध्यक्ष हुँदा कालिका कन्स्ट्रक्सन जेभीका प्रमुख एवं सांसद बिक्रम पाण्डेसहितलाई सिक्टा सिंचाई आयोजनामा सफाइ दिने फैसला गरेको थियो । उनकै नेतृत्वको इजलासले घुलनशील माटोलाई दोष देखाउँदै राज्यलाई अर्बौं हानिनोक्सानी पुगेको उक्त भ्रष्टाचार मुद्दामा पाण्डेसहितका प्रतिवादीलाई सफाइ दिने विशेषको फैसला थियो । उनै श्रीकान्तलाई पुरस्कृत गर्ने गरी सर्वोच्चमा लान खोजिएको थियो । तर, कानुनमन्त्री गिरीका कारण उनीहरूको त्यो योजना पूरा हुन पाएन ।

सर्वोच्च अदालतमा न्यायाधीश नियुक्तिका लागि उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला, विराटनगरका मुख्य न्यायाधीश रमेशप्रसाद राजभण्डारी, दिपायलकी मुख्य न्यायाधीश शान्ति सिंह थापा, विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र महान्यायाधिवक्ता दिनमणि पोखरेलको नाम पनि चर्चामा थियो । तर, निरौला, लोहितचन्द्र शाह र राजभण्डारीभन्दा जुनियर पौडेल र पाण्डेलाई सर्वोच्चमा छिराएर अरु खाली राख्ने विश्वम्भर र आनन्दमोहनको रणनीति थियो । पौडेललाई आनन्दमोहनले र पाण्डेलाई विश्वम्भरले च्यापेका थिए । पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ निकट राजभण्डारीतिर देखाएर पाण्डे छिराउने विश्वम्भरको योजना थियो । आनन्दमोहनको कोटाबाट पौडेल र विश्वम्भरको कोटाबाट पाण्डेलाई न्याय परिषद्को बहुमतबाट सर्वोच्च अदालतमा ल्याउने उनीहरुको योजना र चलखेलले अन्ततः फेल खाएको छ ।

बिदाई हुनुभन्दा २ घण्टा अगाडि आनन्दमोहनको जोडबलमा न्याय परिषद्को बैठक बोलाइयो, न्यायाधीशमा आफ्ना मान्छे ल्याउने खेल

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org