ताजा समाचार

उपप्रधानमन्त्री सिंह र भारतीय विदेश सचिव मिस्रीबीच भेटवार्ता

काठमाडौं । उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंह र नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीबीच भेटवार्ता भएको छ ।

विदेश सचिव मिस्री उपप्रधानमन्त्री सिंहलाई भेट्न सिंहदरबारस्थित मन्त्रालयमा पुगेका थिए । ्भेटमा शहरी विकास, फोहोर मैला व्यवस्थापन, बाग्मती, विष्णुमतिलगायतका नदीको स्वच्छता र सफाईलगायतका नेपाल भारतबीच हुनसक्ने सहकार्यका विषयमा छलफल भएको छ ।

उपप्रधानमन्त्री सिंहले भारतमा चलिरहेको स्वच्छ भारत अभियान र गंगा नदी सफाइको अनुभव र प्रविधि नेपालका लागि उपयोगी हुनसक्ने भन्दै सहकार्यका लागि आग्रह गरेका थिए । त्यस्तै, उनले नागरिकले आवतजावतमा समस्या भोगिरहेको भन्दै नेपालले महाकाली नदीमा झोलुंगे पुल निर्माणमा भारतको सहजीकरण चाहिरहेको पनि बताए । भेटमा नेपालको पूर्वाधार विकास, भूकम्प र कोभिडको समयमा भारतले गरेको सहयोगका लागि उपप्रधामन्त्री सिंहले धन्यवाद दिएका थिए ।

‘नेपालको शहरी विकासको क्षेत्रमा भारतबाट के सहयोग हुनसक्छ भन्नेबारे छलफल भयो,’ शहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले भने, ‘हामीले तुइनलाई विस्थापित गर्ने अभियान नै चलाएका छौँ। सीमा नदिमा झोलुंगे पुल बनाउन भारतको सहमति चाहिन्छ । त्योे सहमति लिने प्रक्रिया सरल र सहज होस् भनेर हामीले कुराहरु राख्यौँ । उहाँहरु त्यसमा सकारात्मक हुनुभयो ।’

भारतको इन्डोर लगायतका केही शहरमा स्वच्छ भारत अभियान अन्तर्गत भइरहेको फोहोरमैला व्यवस्थापन र गंगा नदी सफाइको अनुभव र प्रविधि आदानप्रदानमा सहकार्यबारे पनि भेटमा सकारात्मक छलफल भएको थियो ।

भारतका विदेश सचिव मिस्रीले नेपालको शान्ति, स्थायीत्व र समृद्धिका लागि भारतको सधैँ साथ र सहयोग रहने बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org