ताजा समाचार

अन्तर्राष्ट्रिय युवा दिवस: लक्षित कार्यक्रम भने कार्यान्वयन भएनन्

काठमाण्डौ । आज अन्तर्राष्ट्रिय युवा दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । सरकारले विभिन्न कार्यक्रम गरी युवा दिवस मनाउन थालेको २० वर्ष पुग्न थालेको छ । युवा लक्षित गरी सरकारले ल्याइएका कार्यक्रम कार्यान्वयन प्रभावकारी नहुँदा युवाका मुद्दा अपेक्षाकृतरुपमा सम्बोधन हुन नसकेको युवाहरुको गुनासो छ ।

अहिले युवाको मुख्य समस्या बेरोजगार रहेको छ । स्वदेशमा रोजगारी र उद्यमशीलताको अवसर नहुँदा वार्षिक सात लाखभन्दा बढी युवा रोजगारीका लागि विदेशमा जाने गरेको विभिन्न सरकारी तथ्याङ्क रहेको छ । राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले सरकारले युवा लक्षित ल्याइएका कार्यक्रम प्रभावकारी कार्यान्वयन नहुँदा रोजगार र उद्यमशीलतामा समस्यामा परेको बताउनुहुन्छ ।

उहाँले सबैले युवाको चिन्ता गर्ने गरेको तर कसैले पनि व्यवस्थापन नगरेको गुनासो गर्नुभयो । सरकारले सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि २०७५ ल्याएको छ । तर यो कार्यविधिबाट हुने खाने र टाठाबाठाले मात्र अनुदान प्राप्त गरेका छन् ।

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा १६ देखि ४० वर्ष उमेर समूहका युवाको जनसङ्ख्या ४२ दशमलव ५६ प्रतिशत अर्थात एक करोड २४ लाख १२ हजार १७३ रहेको छ  । जनसाङ्ख्यिक हिसाबले युवाको जनसङ्ख्या धेरै रहेको छ ।

जनसङ्ख्यासँगै नीति(निर्माण र नेतृत्वमा युवाको सहभागिता बढ्दो छ । सङ्घमा १२ प्रतिशत, प्रदेशसभामा २० प्रतिशत र पालिकामा ४१ प्रतिशत युवाको जनप्रतिनिधिमा सहभागिता रहेको छ । युवालाई स्वरोजगार बनाउनका लागि ‘युवा स्वरोजगार कोष’ पनि स्थापना गरिएको छ ।

राष्ट्रिय युवा नीति २०७२ र ‘युथ भिजन २०२५’ले पनि युवा विकासका व्यापक विषयलाई नीतिगत रूपमा समावेश गरेको छ । यस्तै प्रदेश, जिल्ला र पालिकामा पनि युवाका संरचना तयार गरिएका छन् । प्रदेश युवा परिषद्, जिल्ला युवा समिति र युवा क्लब सञ्जाल गठन गरिएका छन् ।

परिषद्ले सात सय ५३ स्थानीय तहमा नगर(गाउँ परिषद् गर्नुपर्नेमा अहिले कार्यपालिकाद्वारा १६ स्थानीय तहमा मात्रै परिषद् र ६५ वटा स्थानीय तहमा युवा सञ्जाल गठन भएका छन् । प्रदेश स्तरमा लुम्बिनी, बाग्मती र सुदूरपश्चिममा युवा परिषद् गठन गरिएको छ । तर पनि युवाका मुद्दा सम्बोधन हुन सकिरहेका छैनन् ।

राष्ट्रिय युवा परिषद्का सदस्य जगदीश ऐरले युवालाई स्वदेशमा राज्यले उपयोग गर्नुपर्ने बताउनुहुन्छ । उहाँले देशको ठूलो जनसङ्ख्या युवा भए पनि राज्यले उपयोग गर्न नसक्दा विदेशिएको बताउनुहुन्छ । उहाँले स्थानीय सरकारले युवामैत्री नीति ल्याएर ऋण प्रणाली, रोजगारीमुखी नीति र श्रम बैंक स्थापना गर्नुपर्नेमा जोड दिनुभयो ।

सन् १९९८ अगस्ट ८ देखि १२ तारिखसम्म संयुक्त राष्ट्रसङ्घको समन्वयमा पोर्चुगलको राजधानी लिस्बनमा विश्वका एक सय ४० देशका युवा मामिला हेर्ने मन्त्रीहरूको सहभागितामा विश्व युवा सम्मेलन भएको थियो । त्यस सम्मेलनले आ–आफ्ना देशमा राष्ट्रिय युवा नीति तर्जुमा गर्ने साझा प्रतिबद्धता जनाउनाका साथै युवा सशक्तीकरणका पक्षमा ८८ बुँदा लिस्बन घोषणापत्र समेत जारी गरेको थियो ।

त्यसपछि सन् २००० देखि ऐतिहासिक घोषणा भएको अगष्त १२ लाई आधार मान्दै हरेक वर्ष विश्वव्यापी रुपमा अन्तर्राष्ट्रिय युवा दिवस मनाउन थालियो । नेपालमा भने युवासँग काम गर्ने सङ्घसंस्थाको अगुवाइमा पहिलो पटक सन् २००४ देखि यो दिवस मनाउन थालिएको हो ।

नेपालमा यसवर्ष ‘दिगो विकास लक्ष्यमा प्रगति र समृद्धि स् डिजिटल प्रविधिमा युवा पहुँच अभिवृद्धि’ भन्ने मूल नाराका साथ दिवस मनाउन लागिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org