ताजा समाचार

मन्दिरबाट फर्कँदा चट्याङ लागेर मृत्यु

काठमाडौं । मुगुको छायानाथ नगरपालिका– १० स्थित ऋणमोक्ष मन्दिर दर्शन गरी फर्कने क्रममा चट्याङले लागेर एकजना दर्शनार्थीको मृत्यु भएको छ । चट्याङबाट दुईजना घाइते भएका छन् । मृत्यु हुनेमा पातारासी गाउँपालिका– ४ का ४० वर्षीय पुरुष रहेको विपद व्यवस्थापन प्राधिकरणले जनाएको छ । मन्दिरबाट फर्कँदै गरेका अर्का ३१ वर्षीय पुरुष र ५० वर्षकी महिला घाइते भएका छन् ।

त्यस्तै रोल्पा नगरपालिका– ९, ह्वामे बस्ने ५५ वर्षका पुरुष र ५० वर्षकी महिला सुतिरहेको ठाउँमा राति चट्याङ पर्दा दुबै घाइते भएका छन् । चट्याङलाई मनसुनजन्य घटनाका रुपमा लिइन्छ । पछिल्लो समय चट्याङबाट मृत्यु हुनेको संख्या अत्यधीक बढ्दै गएको छ । गत जेठ २८ देखि असार २५ सम्म एक महिनाको अवधिमा देशभरिमा मानवीय क्षति हुने गरी ९४ वटा चट्याङका घटना भएका छन् ।

एक महिनाको अवधिमा चट्याङबाट १९ जनाको मृत्यु भएको छ भने ३५ जना घाइते भएका छन् । चट्याङबाट सम्पत्तिमा क्षति हुनेसमेत प्रभावित परिवारको संख्या एक सय रहेको छ । जेठयताको तीन महिनामा मात्रै चट्याङ लागेर २४ जनाको मृत्यु भएसकेको छ भने ५५ जना घाइते भएका छन् । यसअघि ०८१ बैशाखमा एकै महिनामा चट्याङबाट ७७ जना घाइते हुनुका साथै ८ जनाको मृत्यु भएको थियो । ०८० चैतमा चट्याङबाट ४ जनाको मृत्यु भएको थियो भने २७ जना घाइते भएको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।

फागुन महिनामा समेत चट्याङबाट क्षति पुग्ने गरेको छ । प्राधिकरणका अनुसार गत फागुनमा चट्याङ लागेर ९ जना घाइते भएका थिए । त्यसो त माघ महिनामा परेको चट्याङबाट १ जनाको मृत्यु हुनुका साथै १५ जना घाइते भएका थिए । ०८० पुसमा चट्याङ लागेर एकजना घाइते भएको प्राधिकरणमा रेकर्ड छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org